काठमाडौं । चीनको वुहान क्षेत्रबाट सुरु भएको कोरोनाभाइरसको असर अहिले विश्वमा देखिएको छ ।नेपालमा कोरोनाभाइरसका संक्रमित एकजना भेटिएको भए पनि उनी उपचारपछि अहिले स्वस्थ रहेको टेकु अस्पतालले जनाएको छ ।टेकु अस्पतालका अनुसार अहिलेसम्म अस्पताल पुगेका कोहीमा पनि कोरोनाभाइरस देखिएको छैन ।चीनमा ८० हजार बढी कोरोनाभाइरसको संक्रमणमा परेका छन् । चीनमा मंगलबार बिहानसम्म करिब ६० हजार जना उपचारपछि घर फर्किसकेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चीनको हुबेइ प्रान्तभन्दा बाहिर यसको असर नभएको बताएका छन् ।तर पनि यसको आतंक विश्वमा परेको छ । चीनपछि इटलीमा कोरोनाको असर बढी देखिएको छ । इटलीमा ९ हजार बढीलाई कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म ४६३ जनाको मृत्यु भएको छ भने ७२४ जना उपचारपछि ठिक भएर घर फर्किएका छन् ।दक्षिण कोरियामा ७ हजार बढी कोरोना संक्रमित देखिएका छन् । त्यहाँ ५४ जनाको मृत्यु भएको छ भने उपचारपछि २४७ जना फर्किसकेका छन् ।
इरानमा पनि करिब ७ हजारलाई कोरोना संक्रमण देखिएको छ । करिब २४ सय जना इरानमा पनि उपचारपछि घर फर्किसकेका छन् ।१ सय १५ मुलुकमा कोरोनाको असर देखिएको भए पनि १३ वटा देशमा कोरोनाभाइरसका कारण चारहजार बढीको ज्यान गएको छ ।चीनमा सोमबार १७ जनाको मृत्यु भएको छ भने १७ जना नयाँ संक्रमित फेला परेका छन् । सोमबार नै चीनमा ११५२ जना उपचारपछि फिर्ता भएका छन् ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंका चिकित्सक शेरबहादुर पुन पनि कोरोनाभाइरस (कोभिड–१९)बा डराउनुभन्दा पनि सचेत हुन जरुरी रहेको बताउँछन् ।
“नेपालमा हालसम्म एकजना चीनबाट आएका एक व्यक्तिबाहेक अन्य कसैमा पनि कोरोना देखिएको छैन । तर अहिले अस्पतालमा हरेक दिन कोरोनाको फोविया भएर आत्तिँदै आउनेको संख्या बढेको छ,” उनले भने “अहिलेको मौसम पनि अलिअलि रुघाखोकी लाग्ने मौसम हो । त्यसैले रुघाखोकी लाग्नेबित्तिकै कोरोना भइहाल्यो कि भनेर डराउनुपर्दैन । तर सचेत भन्ने बन्नुपर्छ ।”उनले कोरोना प्रभावित देशबाट फिर्ता भएका नागरिकलाई पनि रुघा लागेमा आत्तिइहाल्नुपर्ने अवस्था नरहेको बताए ।“अस्पतालमा चेकजाँच गरेर घरमा आराम गरेर बस्न सकिन्छ,” उनले भने, “चीन, इटली, कोरियामा जस्तो नेपालमा छैन । डराउनुपर्दैन ।”अर्का चिकित्सक डा. रविन्द्र पाण्डेले पनि सामाजिक सञ्जालमा नेपाललगायतका दक्षिण एसिया कोरोनाबाट सुरक्षित भएको बताउँदै अहिले नै आत्तिइहाल्नुपर्ने अवस्था नरहेको बताउँदै आएका छन् ।उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, “चीनमा नयाँ संक्रमण घट्दो, युरोपमा बढ्दो । नेपाललगायत दक्षिण एसिया सबैभन्दा सुरक्षित ।”