कोरोना संक्रमणः इटलीमा ४ सय ६३ को मृत्यु, सार्वजनिक जमघटमा प्रतिबन्ध
वीरगंज संजाल
२७ फाल्गुन २०७६, मंगलवार ०८:०९
४८३९
एजेन्सी । कोरोनाभाइरसको संक्रमणबाट आक्रान्त बनेको युरोपेली मुलुक इटलीले क्वारेन्टाइनका थप उपायहरु विस्तार गरेको छ ।इटली सरकारले पूरै मुलुकभर सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको छ ।प्रधानमन्त्री ज्युसेपे कोन्टेले मानिसहरुलाई काममा जान र पारिवारिक आपतकालीन अवस्थामा मात्र हिँडडुल गर्न दिइने बताएका छन् ।सरकारको यो निर्णयले समाजको सबैभन्दा कमजोर सदस्यहरुको रक्षा गर्ने उनको भनाइ छ ।
टेलिभिजनमार्फत देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोन्टेले इटलीको चलन परिवर्तन गर्नुपर्छ भन्दै यसका लागि मानिसहरु घरमै बस्नु उत्तम विकल्प हो भनेका छन् ।इटलीको भलाईका लागि सबैजना मिलेर थप कडा प्रावधानको पालना गर्नुपर्ने उनको भनाइ छ ।पछिल्लो २४ घण्टामा इटलीमा कोरोनाभाइरसको संक्रमणबाट ९७ जनाको मृत्यु भएको छ । ९ हजार १ सय ७२ जना संक्रमित हुँदा मृतकको संख्या ४ सय ६३ पुगेको छ ।कोरोनाभाइरसका कारण विश्वभर ३ हजार ८ सय ९० जनाको मृत्यु भएको छ ।
संक्रमितको संख्या १ लाख ११ हजार पुगेको छ । इरानमा पछिल्लो २४घण्टामा ४३ जनाको मृत्यु भएको छ ।चीनमा भने संक्रमण नियन्त्रणतर्फ अघि बढेको छ । संक्रमण फैलिए यता हिजो चीनमा सबैभन्दा कम ४० जना मात्र नयाँ रोगी फेला परेका छन् ।