कोरोनाभाइरस : चीनमा सङ्क्रमित मानिसका आफन्तलाई क्वारन्टीनमा राखिएको होटल भत्कियो
वीरगंज संजाल
२५ फाल्गुन २०७६, आईतवार ११:३२
५१३९
एजेन्सी | दक्षिणी चीनको फुजिएन प्रान्तमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिहरूको सम्पर्कमा आएका मानिसलाई क्वारन्टीनमा राख्न प्रयोग गरिएको एउटा होटल भत्किएको अधिकारीहरूले बताएका छन्।च्वान्जू नगरस्थित उक्त पाँचतले होटल भत्किँदा भग्नावशेषमा झन्डै ७० जना फसेका थिए।
तीमध्ये ४७ जनालाई बाहिर निकालिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।घटनास्थलमा खिचिएको भिडिओमा उद्धारकर्ताहरूले खोजी गरिरहेको देखिन्छ।भवन भत्किनुको कारण तथा कसैको मृत्यु भए वा नभएको स्पष्ट छैन।घटना साँझ ७:३० बजे भएको थियो।
कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले सङ्क्रमित व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्कमा आएका तिनका आफन्तलाई त्यहाँ अलग्गै निगरानीमा राखिएको थियो।उक्त होटल सन् २०१८ मा खुलेको र त्यसमा ८० वटा अतिथिकक्ष भएको बताइन्छ।
आफ्ना आफन्त र परिवारका सदस्यलाई त्यहाँ क्वारन्टीनमा राखिएको बताउने एक महिलाले बेइजिङ न्यूज वेबसाइटसँग भनिन्, “मेरो उहाँहरूसँग सम्पर्क हुन सकेको छैन। उहाँहरूले फोन उठाइरहनुभएको छैन।”“म पनि [अर्को होटलमा] क्वारन्टीनमा छु र मलाई धेरै चिन्ता लागेको छ। के गर्ने त्यो मलाई थाहा छैन,” उनले भनिन्, “उहाँहरू स्वस्थ हुनुहुन्थ्यो, दिनैपिच्छे तापक्रम पनि जाँच्नुहुन्थ्यो। अनि सबै परीक्षणले सबै सामान्य भएको देखाएका थिए।”