मास्कको कालोबजारी गर्ने औषधि पसलहरुलाई २ लाख रुपैयाँ जरिवाना
वीरगंज संजाल
२५ फाल्गुन २०७६, आईतवार ००:१४
४७०९
काठमाडौँ | बजारमा मास्कको अभाव बढ्दै गइरहेका बेला काठमाडाैँकाे महावाैद्धमा (वीर अस्पताल नजिकै) रहेका केही औषधि पसलले मास्क लुकाएको र महँगोमा बेचेकाे पाइएपछि कारबाहीमा परेका छन्।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले शुक्रबार अनुगमन गर्दा वीर अस्पताल नजिकै रहेको आयुष फार्मेसीले मास्क लुकाएको र धेरै मूल्यमा बेचिरहेको पाइएकाले कारबाही गरेको हो।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले कारबाहीमा पर्ने आयुष फार्मेसी तथा क्षेत्रपाटीमा रहेको आइज्याक हस्पिटेक सपोर्टलाई दुई–दुई लाख रुपैयाँ जरिवाना तिराएको बताए।
उनले औषधि पसलहरुले मास्कको अभाव सिर्जना गरेको तथा चर्को मूल्यमा विक्रि वितरण गर्दै आएकाले कारबाही गरेको बताए। उनले भने, ‘पसलले धेरै मूल्यमा मास्क बेच्ने र लुकाउने गरेकाले अनुगमन टोलीले दुई लाख रुपैयाँ जरिवाना गरेको हो।’कोरोना भाइरसको त्रासले बजारमा मास्कको माग बढेपछि व्यापारीहरुले मास्कको कालोबजारी गरेका छन्।सुवेदीका अनुसार औषधी पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार अनुगमन अधिकृतले तत्कालै २ लाख रुपैयाँ जरिवाना गराएका थिए।कानुनमा कुनै व्यवसाय वा संघसस्थाले कुनै पनि उपभोग्य सामानको कृत्रिम अभाव सिर्जना गरेमा, तौल र साइज फेरबदल लगायतका कसुर गरेमा उक्त ऐनको दफा ३८ (ङ) को कसुरमा दफा ३९ बमोजिम अनुगमन अधिकृतले तत्कालै २ देखि ३ लाख रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था छ।
यस्तै शुक्रबार क्षेत्रपाटीकै औषधि पसल एसजे मेडिको सर्जिकललाई २० हजार रुपैयाँ र महाबाैद्धमा रहको आरएफ फार्मेसीलाई १० हजार रुपैयाँ जरिवाना तिराइएको सुवेदीले बताए।उनले भने, ‘उक्त पसलहरुले बेचिरहेको मास्कको खरिद बिल देखाउन नसकेपछि उनीहरुलाई तत्कालनै जरिवाना तिराइएको हो।’केही दिनदेखि औषधी पसलहरुमा तिव्र रुपमा अनुगमन भइरहेको उनले बताए।चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस नेपालमा पनि फैलिने डरले मास्क तथा औषधिको अभाव हुन थालेपछि अनुगमन तीव्र पारेको विभागले जनाएको छ। विभागका महानिर्देशक सुवेदीले पछिल्लो १० दिनदेखि औषधि पसल तथा सर्जिकलहरुमा अनुगमन गरिरहेको बताए।
यस्तै बिल बिना नै महँगोमा मास्क बेच्ने त्रिपुरेश्वरको स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार र सचिन ट्रेड कन्सर्नलाई १० हजार रुपैयाँ तथा त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँच–पाँच हजारका दरले जरिवाना तिराएको विभागका महानिर्देशक सुवेदीले जानकारी दिए।सोही क्रममा नेपाल केयर सर्जिकल सप्लायर्सले मास्कको कृतिम अभाव सिर्जना गरेको पाइएपछि २ लाख रुपैयाँ जरिवाना तिराइएको उनले बताए।यस्तै कलंकीको एक कस्मेटिक पसलमा सर्जिकल मास्क बेचिरहेको पाइएपछि उक्त पसललाई पनि कारबाही गरिएको सुवेदीको भनाइ छ।सरकारले मास्क लुकाइएको या महँगो बेचेको पाइएमा ११३७ मा टेलिफाेन गरेर खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।नागरिकको उजुरीका आधारमा सरकारले अनुगमन गरी दोषी पाइएमा तीन लाख रुपैयाँसम्म जरिवाना तिराउनुका साथै मुद्दा चलाउने विभागले जनाएको छ।मङ्गलबारदेखि विभागले बजारमा अनुगममा सुरु गरेकाे थियाे।