चुरोट सेवन बढी खतरा कि प्रदूषित हावामा श्वास फेर्नु ?
वीरगंज संजाल
२३ फाल्गुन २०७६, शुक्रबार ०८:०८
५१०९
काठमाडौं । वायु प्रदूषणका कारण संसारभरि मानिसको झण्डै तीन वर्षसम्म उमेर घटाएको वैज्ञानिकहरूको मान्यता छ । फोक्सोसम्बन्धी रोग, क्यान्सर, हृदयसम्बन्धी रोग र हृदयघात वायु प्रदूषणकै कारण हुने गर्छ । यही कारण वायु प्रदूषणलाई अहिले ‘न्यू स्मोकिङ’ अर्थात नयाँ धूमपान भनिन्छ ।
वायु प्रदूषणका कारण हाम्रो उमेर कति घटिरहेको छ ?
वैज्ञानिकहरूको एक टोलीका अनुसार आउटडोर वायु प्रदूषणका कारण औसत तीन (२ दशमलब ९ साल) वर्ष उमेर कम भइरहेको छ । यो पहिलाको अनुमानभन्दा दोब्बर बढी हो । जुन धूमपान गर्दा स्वास्थ्यलाई पर्ने असरभन्दा कयौं बढी हो ।
‘कार्डियोभेस्क्युलर रिसर्च जर्नल’ मा प्रकाशित अध्ययनमा युद्ध लगाएतका हिंसाबाट मानव जीवनको औसत आयुमा पर्ने असरको तुलनामा १० गुण बढी वायु प्रदूषणको असर पर्ने गरेको दाबी गरिएको छ । शोधकर्ताहरूले अध्ययनका क्रममा वायु प्रदूषणबाट हुने मृत्यु को संख्या धूमपानबाट हुने मृत्युभन्दा बढी फेला परेको बताएका छन् । उनीहरूले उक्त अध्ययनका लागि २०१५ मा भएका मृत्युहरूको अध्ययन गरेको थियो ।
शोधकर्ताहरूले २०१५ मा मात्रै ८८ लाख मृत्यु वायु प्रदूषणका कारण भएको पाइएको जनाएका छन् । जबकि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांक अनुसार विश्वभरि तम्बाकु सेवनबाट बर्सेनि ८२ लाख मानिसहरूको मृत्यु भएको थियो ।
जसमध्ये ७० लाखभन्दा बढी मृत्यु चुरोट सेवन र तम्बाकु सेवनको मिश्रित उत्पादनको प्रत्यक्ष प्रयोगका कारण भएको थियो ।
महामारीको संकट
वायु प्रदूषणका कारण कार्डियोभेस्क्युलर र श्वानसम्बन्धी रोगको खतरा बढ्दै जान्छ । यसका साथै वायु प्रदूषणले मानव स्वास्थ्यमा अन्य कयौं प्रकारको असर पुर्याउँछ ।
मेन्ज युनिभर्सिटी मेडिकल सेन्टरका प्रोफेसरसमेत रहेका यो अध्ययनका सह–लेखक थोमस मुन्जेलले भनेका छन्, “हामीले पाएको परिणामले वायु प्रदूषण महामारी जस्तै देखाएको छ । नीति निर्माता र मेडिकल समुदायले यसका बारेमा बढी ध्यान दिन जरुरी छ । पछिल्ला केही दशकमा धूमपानको तुलनामा वायु प्रदूषणप्रति कम ध्यान दिइएको छ ।”
अलग अलगमा देशमा असर पनि अलग अलग
विशेषज्ञ टोलीले लामो समयको वायु प्रदूषणको असरलाई अलग अलग देशहरूको स्तरमा पनि अध्ययन गरेका छन् । अध्ययनका अनुसार पूर्वी एसियाली देशहरूमा वायु प्रदूषणका कारण मानवको औसत आयु चार वर्षसम्म कम भएको छ । अस्ट्रेलिया, न्युजिल्यान्डमा ०.८ वर्ष कमी आएको पाइएको छ ।
चाडमा वायु प्रदूषणका कारण मानवको औसत उमेरमा सात वर्षसम्म कमी आंकलन गरिएको छ भने कोलम्बियामा चार महिनभन्दा बढी कमी आएको पाइएको छ । वायु प्रदूषणको बढी असर वृद्धवृद्धामा
अध्ययनअनुसार वायु प्रदूषणको सबैभन्दा बढी असर वृद्धवृद्धामा पर्ने गर्छ । शोधकर्ताहरूको अनुमानअनुसार वायु प्रदूषणका कारण विश्वभरि हुने मृत्युमा ७५ प्रतिशत मृत्यु ६० वर्षभन्दा बढी उमेर समूहका मानिसको हुने गर्दछ । बीबीसी