काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म बाबु मोहनप्रसाद ओली र आमा मधु ओलीको कोखबाट वि.सं २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा भएको हो । उनको खास नाम खड्गप्रसाद शर्मा ओली हो ।गरिव परिवारमा जन्मिएर हुर्केका ओली बाल्यकालमै आमाको मातृ वात्सल्यबाट विमुख भएका थिए । उनी डेढ वर्षको हुँदा नै उनको आमाको निधन भएको थियो । बाल्यकालमा ओलीलाई केही समय हजुरबुवाले पालेका थिए । त्यस्तै किशोरावस्थामा ओलीले रामनाथ दाहालका घरमा काम गरेर विद्यालय शिक्षा अध्ययन गरेका थिए । कक्षा ४ सम्मको अध्ययन गाउँमै पूरा गरेका ओलीले झापाको आदर्श माध्यमिक विद्यालयबाट २०२८ सालमा प्रवेशिका परीक्षा (एसएलसी) उत्तिर्ण गरेका थिए ।
२०३० असोज २३ गतेबाट जेल जीवन प्रारम्भ गरेका ओली १४ वर्षपछि २०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा भएका थिए । उनी चर्चित झापा आन्दोलनका डिजाइनर र सहभागी थिए । उनलाई सोही आन्दोलनको नेतृत्व गरे बापत पक्राऊ गरी राजद्रोहको मुद्दा चलाईएको थियो । २०७२ मा उनी पहिलो पटक प्रधानमन्त्री बनेका थिए । खासगरी भारतीय नाकाबन्दीलाई डटेर सामना गर्दैगर्दा उनी लोकप्रियताको शिखर उक्लेका थिए ।
ललितपुरको पाटन निवासी राधिका शाक्यसँग विवाह गरेका ओलीका आफ्ना छोराछोरी छैनन् । तर उनलाई बुबा मान्ने नेता कार्यकर्ताहरु भने थुप्रै छन् । नेपालको ७७ वटै जिल्ला भ्रमण गरिसकेका ओलीले चीन, भारत, बंगलादेश, भुटान, श्रीलंका, जापान, सिंगापुर, भियतनाम, अस्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, रसिया, स्विडेन, फिलिपिन्स, काजकिस्तान, पेरु, मेक्सिको, पोर्चुगल, स्पेन, कतार, मलेसिया, क्युवा, युक्रेन, नेदरल्यान्ड, बेल्जियम, साइप्रस, बेलारुसलगायतका मुलुकहरुको भ्रमण गरेका छन् । उनी वि.सं.२०५१ सालमा बनेको नेपालको पहिलो कम्यूनिष्ट सरकारमा गृहमन्त्री भएका थिए । उनले उपप्रधान तथा परराष्ट्रमन्त्री समेत भएर कार्यकुशलता प्रदर्शन गरिसकेका छन् ।
ओली हाल अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी बासिन्दा हुन् । २०७४ फागुन ३ गतेदेखि उनी बालुवाटार प्रधानमन्त्री निवासमा बस्दै आएका छन् । उनले २०७४ फागुन ३ गते ४१ औं प्रधानमन्त्रीका रुपमा शपथ लिएका थिए । हेरौं भिडियोमा :