काठमाण्डौ | त्रि. वि. शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण एकाइका प्रमुख डा. रमेशसिंह भण्डारीकाअनुसार कलेजोमा धेरै खालका समस्या देखिने गरेका छन्।केही समस्या जन्मजात वा वंशाणुगत हुने गर्दछन् भने केही व्यक्तिका जीवनशैलीले निम्त्याउने गर्दछ । कलेजोमा लाग्ने रोगहरुलाई शल्यक्रिया र अन्य चिकित्सा विधिद्धारा उपचार गर्ने गरिन्छ ।कलेजोको क्यान्सर र सिस्टहरुलाई शल्यक्रियामार्फत काटेर फाल्नुपर्ने हुन्छ । यस्तो समस्यालाई सिरोसिस भनिन्छ । सिरोसिस भन्नाले कलेजोको रोग अन्तिम अवस्थामा पुगेर कामै नलाग्ने भएको अवस्था हो ।
नेपालमा सबैभन्दा बढी सिरोसिस हुने कारणहरुः
– अत्यधिक मद्यपान गर्नु
– हेपाटाइटिस बी रोग लाग्नु
– कलेजोमा बोसो जम्नु
कहिलेकाहीँ कलेजो के कारणले बिग्रिन्छ भन्ने कुरा पत्ता लगाउनै सकिँदैन । कलेजो बिग्रिनु वा सिरोसिस हुनुमा धेरै कारणहरु हुन सक्छन् । तीमध्ये हेपाटाइटिस बी को सङ्क्रमण पनि एक हो ।
त्यसैगरी विषादीयुक्त खानपानले पनि एक दुई हप्तामै सामान्य व्यक्तिको कलेजो बिगार्न सक्छ । यस्तो अवस्थामा कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था आउन सक्छ ।
सामान्य भाषामा भन्नुपर्दा जुन व्यक्तिलाई कलजो चाहिएको हो उसको कलेजोको बिग्रिएको भाग निकाल्नु पर्छ र त्यो निकालिएको भागमा कलेजो दिने व्यक्तिको लगभग ४० देखि ६० प्रतिशत कलेजो काटेर रगतका नशाहरु र पित्तनलीका नसाहरुलाई मिलाएर जोड्नुपर्छ यो प्रक्रियालाई कलेजो प्रत्यारोपण भनिन्छ ।
कलेजो प्रत्यारोपण गर्नुभन्दा अगाडि लिने व्यक्तिलाई कति कलेजो चाहिन्छ र दिने व्यक्तिले कति दिँदा उसको स्वाास्थ्यमा असर पर्दैन भन्ने परीक्षण गरिन्छ । त्यसपछि मात्र कलेजो प्रत्यारोपण गरिन्छ ।
प्रत्यारोपण गरिएको कलेजो बन्न लाग्ने समय
लिने व्यक्तिको शल्यक्रिया ठूलो र जटिल हुन्छ । दिने व्यक्तिको शल्यक्रया पनि लगभग जटिल नै हुन्छ । त्यसकारण दिने व्यक्तिलाई पनि एक, दुई दिन आइसियुमा राख्नुपर्ने डा. भण्डारी बताउनुहुन्छ ।
उहाँका अनुसार कलेजो दान गर्ने व्यक्ति शल्यक्रियापछि चारदेखि छ हप्तामा सामान्य अवस्थामा पुगेर दैनिक कार्यमा फर्किन सक्छ । कलेजो दिने व्यक्तिले आवश्यकताअनुसार आफ्नो कलेजोको ४० देखि ६० प्रतिशतसम्म भाग दिनुपर्ने हुन्छ । दिने व्यक्तिको शल्यक्रिया भएको दुई हप्तामा उसको ९० प्रतिशत कलेजो पलाइसकेको हुन्छ ।
कलेजो प्रत्यारोपण गरिएको व्यक्तिलाई शल्यक्रियापछि एक हप्तासम्म आइसियुमा राखिन्छ । आइसियुबाट निकालिएको दुई वा तीन हप्तापछि अस्पतालबाट डिस्चार्ज गरिन्छ । डाक्टरका अनुसार डिस्चार्ज भएपछि पनि कलेजो प्रत्यारोपण गरिएको व्यक्तिले धेरै सावधानी अपनाउनुपर्ने हुन्छ ।