जनकपुरधाम | जिल्ला प्रशासन कार्यालय धनुषाले नजिकिंदै गरेको होली पर्वलाई लक्षित गरि जिल्लाभरि ४ दिन मदिरा बिक्री वितरण बन्द गर्ने निर्णय गरेको छ ।आज (मंगलबार) बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । मिथिला मध्यमा परिक्रमाको डोला फागुन २५ गते जनकपुरधामको गंगासागरमा विश्राम गरि २६ गते प्रस्थान गर्ने हुँदा फागुन २५ गते दिनको १२ बजेदेखि २६ गते दिनको १२ बजेसम्मका लागि परिक्रमा मार्ग भित्र मदिरा तथा माछामासु विक्री वितरण एवं सेवन नगर्न जिल्ला प्रशासन कार्यालय धनुषाले सर्वसाधारणसँग अनुरोध गरेको छ ।
त्यस्तै होली पर्वका बेला फागुन २७ र २८ गते सूर्योदयदेखि सूर्यास्त नहुँदासम्म सार्वजनिक स्थलमा मदिरा सेवन नगर्न प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले आग्रह गरेका छन् ।स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) क अनुरुप यस्तो निर्णय गरिएको प्रजिअ कणेलले बताएका छन् । होली पर्वमा मदिराको प्रयोगले अपराधिक क्रियाकलाप हुन सक्ने खतरालाई मध्यनजर गर्दै मदिरा बिक्री वितरणमा रोक लगाइएको हो ।