विश्वका सबैभन्दा दूषित ३० सहरमध्ये २१ वटा भारतमा, नेपाल पनि ८ नम्बरमा
वीरगंज संजाल
१८ फाल्गुन २०७६, आईतवार ०६:२२
३९९७
एजेन्सी । भारतले फेरि पनि सबैभन्दा दूषित हावा हुने सहरहरुको सूचीमा शिर्ष स्थान हासिल गरेको छ । यति मात्र नभएर नयाँ रिपोर्टका अनुसार सबैभन्दा कम गुणस्तरको हावा भएका शीर्ष ३० सहरमध्ये २१ वटा भारतका रहेका छन् । अर्कोतर्फ चिनियाँ सहरहरुले भने हरेक वर्ष सुधार ल्याइरहेको पाइएको छ । एयर भिजुअलको विश्व हावा गुणस्तर रिपोर्टमा भारतको उत्तर प्रदेशस्थित राजधानी नयाँ दिल्लीको गजियाबाद सहर सबैभन्दा प्रदुषित रहेको उल्लेख छ ।
गत नोभेम्बरमा मात्र नयाँ दिल्लीले एक्युआइ स्तर ८०० नाघेपछि स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । यो भनेको खतरनाक स्तरको पनि तीन गुणा बढी हो । हावामा हुने कुनैपनि कण २.५ माइक्रोमिटर ‘डाएमिटर’ भन्दा सानो भएमा स्वास्थ्यका लागि धेरै हानिकारक मानिन्छ किनकि त्यस्ता साना कणहरु फोक्सो र ह्दय प्रणालीको गहिराइसम्म पुग्न सक्छन् । यसरी देशव्यापी रिपोर्टमा भने बंगलादेश विश्वको सबैभन्दा प्रदुषित मुलुक रहेको पाइएको छ ।
त्यसपछि पाकिस्तान, मंगोलिया, अफगानिस्तान, भारत क्रमशः पाचौँ स्थानसम्म रहेका छन् । नेपाल पनि यसमा आठौँ नम्बरमा आएको छ । नेपालको हावा विशेषगरी संवेदनशील समूहका लागि धेरै अस्वस्थकर मानिएको छ । नेपालको हावाको गुणस्तर पिएम ४४.५ रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वव्यापी रुपमा वायु प्रदुषणका कारण वार्षिक ७० लाख मानिसहरुको समय अगावै मृत्यु हुने गरेको छ । यसले विशेषगरी मुटु सम्बन्धी समस्या, क्यान्सर र स्वासप्रस्वासको संक्रमण गराउँछ । तर पनि शहरी क्षेत्रमा बस्ने ८० प्रतिशत मानिस निर्धारित हावाको गुणस्तर भन्दा खराब अवस्थामा बसोबास गरिरहेका छन् । यसमा पनि दक्षिण एसियाबारे विशेष चिन्ता व्यक्त गरिएको छ । सीएनएनबाट