महाराजगञ्ज | महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालको दोस्रो तलाको एनेक्स वानको ५०२ नम्बर बेडमा ड्रेसिङ सक्नुभएका मन्देश लामालाई छोरी निशाले उठ्न सहयोग गर्दै हुनुहुन्थ्यो ।५९ वर्षीय बुवालाई कलेजोको टुक्रा दान गरेपछि निशा पनि एक हप्तासम्म अस्पतालमै बस्नुभएको थियो । निशा आफू पहिला नै डिस्चार्ज हुनुभएकोले बुबाको डिस्चार्जका लागि अस्पताल आउनुभएको थियो ।
मन्देशमा गरिएको कलेजो प्रत्यारोपण शिक्षण अस्पतालले गरेको चौथो पटक प्रयास हो यसले मन्देशलाई नयाँ जीवन दिएको छ । ‘छोरी निशा र डाक्टर रमेश मेरो लागि भगवान हुनुहुन्छ । मैले उहाँहरुलाई पुज्नुपर्छ.।’ मन्देशले भन्नुभयो । यसो भनिरहँदा उहाँका आँखा हर्षको आँसुले टिलपिल भएका थिए ।
‘दस वर्षअघि नै पेट फुल्ने समस्या देखिएको थियो । तर खासै वास्ता गरिनँ । पछिल्लो एक वर्षदेखि बेला बेलामा बेहोस हुन थालेपछि डर लाग्यो ।’ उहाँले एकै श्वासमा भन्नुभयो । नेपालका धेरै अस्पताल जाँदा पनि बीसको उन्नाइस नभएपछि उहाँ भारतको राजीव गान्धी अस्पताल जानुभयो । तर कलेजो प्रत्यारोपणको लागि एक करोड रुपैयाँ खर्च हुन्छ भनेपछि फर्किएर उहाँ नेपाल आउनुभयो । अहिले आफ्नै देशमा कलेजो प्रत्यारोपण सफल भएर नयाँ जीवन पाएकोमा मन्देश दङ्ग हुनुहुन्छ ।
‘नेपालमै कलेजो प्रत्यारोपण हुन थालेको छ । तर यो धेरैलाई थाहा छैन । नयाँ जीवन पाएपछि मिडियाबाट पहिलो मान्छेको रुपमा तपाईं मलाई भेट्न आउनुभयो । धेरै खुसी लागेको छ । नेपालमै कलेजो प्रत्यारोपण हुन्छ भन्ने कुरा सबैमाझ पुर्याइदिनुहोला’, उहाँले मिठो अनुरोध गर्नुभयो ।
एकातिर उहाँको डिस्चार्ज हुने तयारी चल्दै थियो । अर्कोतिर बाहिर बस्ने अनुमति उहाँलाई थिएन । त्यसैले तपाईंलाई यति भन्छु भन्दै उहाँ भित्र जानुभयो ।
सँगै बसेकी छोरी निशाको मुहार पनि खुसीले बलेको थियो । उहाँले आफूजस्तो खुसी सायद यो दुनियाँमा अरु कोही नभएको भन्नुभयो । ‘मैले बाबालाई नयाँ जीवन दिन पाएकोमा सबैभन्दा ठूलो अवसर पाएँ भन्ने लागेको छ,’ उहाँले भन्नुभयो, ‘म अब संसारकै भाग्यमानी छोरीहरुमध्ये पर्छु होला ।’
कलेजो प्रत्यारोपण नगरी मन्देशलाई बचाउन सकिँदैन भन्ने तथ्य एक वर्षअघि भारतको राजीव गान्धी अस्पताल जाँदा नै थाहा भएको थियो । तर प्रत्यारोपण खर्च एक करोड भारतीय लाग्ने भएपछि उहाँ फर्किनुभयो । नेपाल आएर स्वास्थ्य परीक्षण गर्दा छोरी निशाकोे कलेजो मिल्ने रहेछ । यसले परिवारमा आशाको त्यान्द्रो पलायो । ‘आफ्नो बुवाको ज्यान बचाउने सौभाग्य सबैले पाउँदैनन् तर मैले पाएकी छु,’ निशाले भन्नुभयो ।
शिक्षण अस्पतालले पहिला तीन जनाको कलेजो प्रत्यारोपण गरिसकेकोले बुवा र छोरीलाई कुनै शंका त लागेन तर कता कता डर भने अवश्य लागेको थियो । तर, निशाको लागि सबैभन्दा ठूलो कुरा आफ्नो बुवाको ज्यान थियो । त्यसैले आफूलाई जेसुकै भए पनि बुवालाई बचाउँछु भन्ने अठोट उहाँले गर्नुभयो ।
‘मेरो कलेजो त पछि पनि बढ्छ भन्ने मलाई थाहा भयो । तर मेरो परिवारको खुसी बढ्ने समय यही हो,’ उहाँले भन्नुभयो । बुवा र उहाँको उपचारमा भएको सबै खर्चको हिसाब झन्डै ३२ लाख रुपैयाँ पुग्ने अनुमान निशाको छ ।
यसअघि गएको जेठ १८ गते पहिलो, साउन ३ गते दोस्रो र कात्तिक १ गते तेस्रो कलोजो प्रत्यारोपण सफल शिक्षण अस्पताले गरेको थियो । मन्देशको प्रत्यारोपण माघ २४ गते भएको हो ।
प्रत्यारोपण भएको १८ दिनपछि अर्थात् गएको फागुन १२ गते उहाँ डिस्चार्ज हुनुभयो । उहाँले केही समय घरमै आराम गर्नुपर्ने छ । उहाँलाई सामान्य अवस्थामा फर्कन करिब तीन महिना लाग्ने शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण एकाइका प्रमुख डाक्टर रमेशसिँह भण्डारीले बताउनुभयो । ‘कलेजो सयमा सय त पलाउँदैन तर ९० प्रतिशतसम्म आउँछ,’ डाक्टर भण्डारीको भनाइ छ ।
नेपालमा हालसम्म नजिकको नाता पर्ने व्यक्तिले दिने कलेजोको टुक्रा मात्र प्रत्यारोपण गर्ने गरिएको छ । अब नेपालमा पनि विदेशमाजस्तै ‘ब्रेन डेथ’ भएका (मृत्यु भैसकेका) व्यक्तिको कलेजो निकालेर प्रत्यारोपण गर्न मिल्ने प्रक्रिया अगाडि बढाइएको शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण एकाइका प्रमुख भण्डारीले बताउनुभयो ।