एजेन्सी । अहिले अष्ट्रेलियाको पश्चिमी समुद्र छेउमा ‘लब्सटर्स’ को थुप्रो ट्याङकमै थन्किएको अवस्थामा छ किनकि यसका सबै मुख्य बजार हाल कोरोनाका कारण बन्द छन् । त्यस्तै अमेरिकाको न्यु जर्सी स्थित एउटा बुटिकले विवाहका पहिरनको अर्डर पूरा गर्न नसकिरहेको गुनासो गरेको छ । यता लन्डनमा पनि ‘विग’ अर्थात नक्कली कपाल र हेयर एक्सटेन्सन निर्माण गर्ने लगायतका साना व्यापारीहरुले कच्चा पदार्थको सप्लाइ पर्याप्त नभएको बताइरहेका छन् ।
यसरी नयाँ कोरोना भाइरसले चिनियाँ अर्थतन्त्र मात्र नभएर विश्वभरका सानाठूला सबै व्यवसायलाई नराम्ररी प्रभाव पारिरहेको छ । यसमा विशेषगरी सवारी, प्रविधि, ऊर्जा र पर्यटन उद्योगहरु मारमा परेका छन् भने विश्वका सबै कुनामा दैनिकीका हिस्सा रहँदै आएका ससाना व्यापारीहरुले पनि कारोबारमा ठूलो अवरोध झेल्नु परिरहेको छ । जस्तै कि हामीले दैनिक खाने खाना, गर्ने काम, लगाउने लुगा सबैले विश्व अर्थतन्त्रमा चीनको कति ठूलो भूमिका छ भन्ने याद दिलाइरहेको विज्ञहरु बताउँछन् ।
यसरी पश्चिम अष्ट्रेलियामा माछाको सिजन सुरु हुनै लाग्दा ‘गेराल्डटन फिसरमेन्स’ को–ओपरेटिभले आफ्नो सबैभन्दा विशेष ‘रक लब्सटर्स’ ल्याउन बन्द गरेको छ जुन यसले लुनार नयाँ वर्षका लागि चीनलाई निर्यात गर्ने गरेको थियो । अहिलेको समय यस उद्योगका लागि सबैभन्दा व्यस्त हुने गर्दथ्यो । तर हाल यसको माग शुन्यमा झरेको कम्पनीका प्रवक्ता सन मेकनेसले सिएनएनसँग बताए । उनी भन्छन्, “अहिले हाम्रो उद्योगमा जिउँदा उत्पादनहरु ट्याङ्कमै थन्किएर बसेका छन् । यसरी कोरोना भाइरसले चिनियाँहरुमा पारिरहेको भयानक असरबारे हामीले सायदै कल्पना गर्न सक्छौँ होला तर हाम्रो उद्योगले भने आर्थिक रुपमा सो असर महसुस गरिरहेको छ ।”
उक्त कम्पनीले हरेक वर्ष ६,६०० टन लब्सटर पकड्ने गरेको थियो जसमध्ये ९० प्रतिशत चीनमा निर्यात गर्ने गरिएको बताएको छ । तर योपटक भने उनीहरुले सबै मछुवाराहरुलाई लब्सटर ल्याउन बन्द गर्न भन्न बाध्य भएको बताए । किनकी उनीहरुसँग त्यसलाई विक्री गर्न अहिले उपयुक्त बजार छैन । त्यसैले यसको मूल्य विस्तारै स्थिर हुँदै गएपनि अझै प्रति किलो तीस डलर रहेको छ जुन औसत मूल्य को आधा मात्र हुन्छ ।
एसओएस चाइना इन्सटिटिउटका निर्देशक स्टिभ साङका अनुसार कोरोनाले विश्वव्यापी अर्थतन्त्रमा पुर्याएको कूल क्षतिको वास्तविक आङ्कलन लगाउन असम्भव छ । किनकी चीनमा मात्र अनगिन्ती उद्योगहरु अहिले सञ्चालन विहिन अवस्थामा छन् । जस्तै केही समय अगाडि एप्पल एक्लैले मात्र रातारात ३४ अर्ब डलर बराबरको बजार भाउ गुमाउनु परेको थियो ।
यसरी विश्व अर्थतन्त्रमा चीनको आजको स्थान मूल्याङ्कन गर्न सकिँदैन जसको पहिलो सुरुवात १९७० को दशकमा देङ जिओपिङले गरेका थिए । त्यस समय चीनको अर्थतन्त्र आजको उत्तर कोरियाको जस्तै थियो । प्राविधक, औद्योगिक लगायत सबै क्षमतामा उनीहरु पछाडि थिए । तर देङले चीनका लागि नयाँ महत्वाकांक्षी लक्ष्यको बाटो खोलिदिए । जसकारण नै आज चीन र अमेरिकाबीचको आर्थिक अन्तर कम हुँदै गइरहेको छ । यस प्रभावशाली बदलावले नै चीनका ८० करोड मान्छेलाई गरिबीबाट बाहिर निकाल्न सकेको विश्वबैंकको डाटाले देखाएको छ । सीएनएनबाट