जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेश प्रहरी भर्नाको तयारी शुरू गरेको छ । संघीय सरकारले प्रहरी गठनसम्बन्धी आवश्यक कानून बनाएसँगै प्रदेश सरकारले प्रहरी भर्नाको तयारी गरेकोे प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए । मन्त्री यादवको अनुसार प्रहरी भर्नाका लागि प्रदेश लोकसेवा आयोगले पाठ्यक्रम र परीक्षाको ढाँचा तयार गरिरहेको छ भने मन्त्रालय विनियमावली र निर्देशिका तयारमा जुटेको छ । ‘सरकारले प्रहरी भर्नाका लागि विभिन्न तयारी गरिरहेको छ,’ उनले भने, ‘प्रहरी अधिकारी र सुरक्षा विज्ञसँग छलफल गरेर विनियमावली र निर्देशिकालाई छिट्टै टुंगो लगाइनेछ ।’ प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादवले प्रहरी भर्नाका लागि पाठ्यक्रम र परीक्षाको मोडालिटीलाई अन्तिम रूप दिने काम भइरहेको बताए । आगामी फागुनसम्म भर्नाका लागि आवश्यक सबै प्रक्रिया टुंग्याउने बताइएको छ ।
प्रदेश प्रहरी गठनका लागि चाहिने कानून संघीय सरकारले माघ २८ गते ल्याएसँगै प्रदेश प्रहरी भर्नाको बाटो खुलेको हो । संविधानले प्रदेशभित्रको शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारलाई दिए पनि संघीय कानून नआउँदा लामो समयदेखि प्रहरी भर्ना प्रक्रिया अगाडि बढ्न सकेको थिएन । यद्यपि, प्रदेश सरकारले संघीय कानून आउनु १ वर्षअघि नै प्रहरी ऐन ल्याएको थियो । प्रहरीको दरबन्दी निर्धारण र समायोजन गर्न ऐनले गृहसचिवको संयोजकत्वमा समिति रहने व्यवस्था गरेको छ । समितिको पहिलो बैठक बसेर भर्ना प्रक्रिया छिट्टै अगाडि बढाउने मन्त्री यादवले बताए । ऐन अनुसार नेपाल प्रहरीको दरबन्दीमा रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) दर्जासम्मका प्रहरी अधिकारीहरू प्रदेश प्रहरीमा समायोजन हुने प्रावधान छ ।