काठमाडौं | आकर्षक तलब पाउने गरी काम गर्न फ्रान्स पठाइदिने भन्दै ३ जना नेपालीबाट ३८ लाख रुपैयाँ उठाएर ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।पक्राउ पर्नेमा रुपेन्देहीको दूधराक्ष घर भइ काठमाडौंको मनमैजु बस्दै आएकी ४३ वर्षीया पूर्णिमा श्रीष छन् ।प्रहरीका अनुसार फूड प्याकिङ गर्ने काम गर्ने गरी फ्रान्स पठाइदिने भन्दै ३ जनाबाट ३८ लाख ५० हजार रुपैयाँ उठाएकी थिइन् ।
तर, पैसा लिएको लामो समयसम्म पनि सम्पर्कमा नआएपछि पीडित युवाहरुले महानगरीय अपराध महाशाखामा उजुरी दिएका थिए ।पीडितमध्येका शीरबहादुर थापासहित ३ जनाले दिएको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले श्रीषलाई मनमैजुबाट पक्राउ गरेको हो ।पक्राउ परेकी श्रीषमाथि थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) मुकेश कुमारले जानकारी दिए ।