सप्तरी। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठी स्थित दशगजा क्षेत्रमा रहेको भाटे पुल जिर्ण हुँदा सिमा पार यात्रा जोखिमपूर्ण बनेको छ । झण्डै ६ दशकदेखि नेपाल–भारतको सीमाका रुपमा रहेको पुललाई पक्की बनाउनेतर्फ सम्बन्धित निकायले ध्यान नदिँदा सप्तरीका सर्वसाधारण परम्परागत भाटे पुलमै जोखिमपूर्ण आवात जावत गर्न बाध्य छन् ।दशगजा हुँदै बग्ने खाँडो नदी वारपार गर्न कुनै वेला सप्तरीको तिलाठी र आसपासका मनिसहरुले डुंगाको प्रयोग गर्थे । ६ दशकअघि जमिनदारहरुको सहयोगमा स्थानीय जोखन रायले भाटे पुल बनाए । तर अहिले धेरै नयाँ प्रविधिहरुको विकास भईसक्दा पनि सप्तरी तिलाडी गाउँपालिका–१ का सर्वसाधारणहरु भने त्यही भाटे पुल कै भरमा नदी वारपार गर्न बाध्य छन् ।
जोखन रायले निर्माण गरेको यो पुलको उनका पुस्ताले रेखदेख गर्दै आएको भएपनि पछिल्लो समय विभिन्न कारणले गर्दा यसको मर्मत हुन सकेको छैन । जीर्ण पुलबाट नै यहाँका स्थानीयहरु जोखिम मोलेर सीमा वारपार गर्न बाध्य छन् ।नेपाल भारत सिमानामा रहेको यो पुलबाट दैनिक ५-७ सय मानिस वारपार गर्ने गर्दछन् । सप्तरीको तिलाठी र आसपासका अधिकांश मानिस वजार भर्नकै लागि यो पुलबाट कुनौली जाने गरेका छन् । सो पुलको निर्माणको योजना अगाडी बढाउन गाउँपालिकाले आवश्यक पहल गरिरहेको जनाएको छ ।विकास निर्माणका क्षेत्रमा विश्वले फड्को मारिसक्दा पनि सप्तरीको यस गाउँपालिकामा परम्परागत भाटे पुल कै भरमा नदी तर्न पर्न दुर्भाग्य हो । यसरी दैनिक सयौँको संख्यामा आवातजावत गर्नेहरु भएपनि पक्की पुल निर्माणका लागि कुनै ठोस पहली कदम चालिएको देखिदैँन ।