पर्सा ।दीपक चौरसिया | नेपालकै दोश्रो ठूलो रंगशालाको रुपमा मानिएको नारायणी रंगशालाको अवस्था दिन प्रतिदिन जिर्ण बन्दै गएको छ । स्थानीय, प्रदेश र संघीय सरकारले चासो नदेखाउँदा वीरगञ्जस्थित रहेको नारायणी रंगशाला जिर्ण बन्दै गएको हो ।प्रदेशकै सबैभन्दा ठूलो तथा अन्तर्राष्ट्रिय स्तरसम्मको खेल हुने रंगशाला स्थानीय तथा केन्द्रीय स्तरका नेतागणको वेवास्थाका कारण जीर्ण बन्दै गएको स्थानीयको भनाइ छ । रंगशालाको भौतिक संरचनाहरु भासिँदै गएका छन् । भित्ताहरु फुटिरहेका छन् । भित्ता भत्किएर फलाम देख्न थालिसकेको छ ।
मध्यमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष महम्द ज्याउल इस्लामले आ.व २०७६/७७ को लागि संघीय सरकार राष्ट्रिय खेलकुद परिषदबाट रंगशालाको प्याराफिट निर्माणको लागि ५ करोड रुपैयाँ छुटयाइएको जानकारी दिनुभयो। उहाँले संघीय सरकारले नै कवर्ड हल निर्माणको लागि २ करोड रुपैयाँ बिनियोजन गरेको बताउनुभयो । उहाँले निर्माणको काम अघि बढिरहेको बताउनुभएको छ ।
तर स्थानीय भने रंगशाला मर्मत नहुँदा भौतिक संरचनाहरु जिर्ण हुँदै गएको गुनासो गर्छन् । खेलकुदका लागि प्रत्यके दिन हजारौँको संख्यामा मानिसको उपस्थिति हुने रंगशालामा कति बेला कुन वाल भत्किएर कसको ज्यान जाने हो भन्ने त्रास भएको स्थानीय शिव पटेलले बताउनुभयो । सरोकारवालाले चासो नदिँदा यस्तो अवस्था भोग्नु परेको उहाँको भनाइ छ ।
रंगशालाको जग्गा १८ बिघा भएको र जग्गामा किड्स पार्किङ, वाटर वल्डहरु बनाउन सकिने स्थानीय महम्द मुस्तुफा अन्सारीले बताउनुभयो । रंगशाला निर्माणक ालागि संघीय सरकारले दिएको ७ करोड रुपैयाँमै धेरै कार्यहरु गर्न सकिने उहाँको भनाइ छ । तर विनियोजीत रकम बराबरको काम भयो कि भएन भनेर सरकारले अनुगमन गरे मात्र काम सम्पन्न हुन सक्ने अन्सारी बताउनुहुन्छ ।