मकैमा अनौठो रोग : घोगामा होइन, बोटको टुप्पोमा दाना फले
वीरगंज संजाल
१३ फाल्गुन २०७६, मंगलवार १५:४१
१०१०३
बारा | बारामा किसानले लगाएको मकै बालीमा अनौठो किसिमको रोग देखा परेको छ । मकैको घोगामा दाना लाग्नु पर्नेमा त्यसो नभइ बोटको टुप्पोमा फुलेको धानचमरमा स-साना मसिनो दानाजस्तो गेडा लागेको र यसले बाली नै बिग्रिएको किसानले बताएका छन् । १३ कठ्ठामा मकै लगाएका जितपुर सिमरा १८ बडहर्वाका किसान बद्री बखती भन्छन्,’ ८ कठठाको मकै ठिक छ तर ५ कठठामा भने अनौठो समस्या देखिएको छ। घोगामा दाना लागेकै छैन। बोटको टुप्पामा फुलेको धानचमरमा मसिना-मसिना दाना फलेको छ।
उनी भन्छन्, ‘ मकै खेती गर्न थालेको १०÷१२ वर्ष भयो। यस्तो अनौठो समस्या देखिएको पहिलो पटक हो।’ घोगामा दाना नलागेको र बोटको पात पनि सुक्दै गएकाले यसपालीको बाली बिग्रिएको बखती बताउँछन्। बडहर्वाकै किसान ज्ञानु देवकोटाको पनि १ बिघाको मकैबालीमा दाना लागेको छैन । यति बेलासम्म घोगामा दाना लागि सक्नुपर्ने हो तर घोगामा नभइ बोटको टुप्पामा पलाएको धानचमिरामा सानो सानो गेडा फलेको छ।ज्ञानुकी छिमेकी सानी मैया कार्की दाना नलागेर बाली बिग्रिएपछि ९ कठठाको मकैबाली काटेर भैंसीलाई खुवाएको बताउँछिन् ।’धानचमरामा दाना लागेपछि मकै फल्दैन। त्यसैले काटेर वस्तुभाउलाई खुवाइ दिए, उनले भनिन्,’यसपालीको मेहनत खेर गयो।’
घोगामा नभइ बोटको टुप्पामा दाना फल्ने अनौठो रोग लागेर मकैबाली बिग्रिएपछि बाराका सयौं किसान भने चिन्तामा छन् । पसलबाट उधारोमा बीउ , मल र विषादी ल्याएर लगाइएको बाली बिग्रिएर मकै नै नफल्ने भएपछि किसान चिन्तित भएका हुन्।
अनौठो रोग लागेर बिग्रिएको मकैबाली देखाउँदै बारा बडहर्वाका किसान । तस्बिर : क्रान्ति शाह
बीउ, मल र विषादी र खनजोत सबै गर्दा अहिलेसम्म ६० हजार रुपैयाँ खर्च भइसकेको छ, किसान ज्ञानु देवकोटा भन्छिन् , ‘सबै उधारोमा ल्याएर खेती गरेकी हुँ। अब मकै फल्ने छाटकाट छैन। साहुलाई उधारो कसरी तिर्ने भन्ने चिन्ताले पिरोलि रहेको छ ।’मकैबालीका लागि उधारोमा बीउ ,मल र विषादी दिएका पसलेले बाली बिग्रिएको थाहा पाएपछि उधारो तिर्न तोकेता गर्न थालिसकेको अर्की किसान मुन्ना भारती बताउँछिन् । उनी भन्छिन्, ‘६ कठठामा लगानी १५ हजार जति भएको छ । साहुले बाली बिग्रिएको देखेपछि उधारो जति सक्दो छिटटो तिर्नु भनेर गएका छन् ।’
कृषि ज्ञान केन्द्र बाराका अनुसार जिल्लामा यसपाली कुल ६ हजार हेक्टर जग्गामा मकै खेती गरिएको छ । त्यसमध्ये ३ सय ५० बिघाको मकैबालीमा दाना नलागेको समस्या देखिएको हो ।जिल्लाको जितपुर सिमरा र कलैया उपमहानगरपालिका, कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका गाउँमा मकैबालीमा दाना नलागेको समस्या देखा परेको केन्द्रका प्रमुख जितेन्द्र यादव बताउँछन्।
घोगामा नभइ बोटको टुप्पोमा दाना लागेको गुनासो किसानबाट आएपछि केन्द्रबाट खटिएका २ जना प्राविधिकको टोलीले किसानको खेतमा पुगेर बालीको निरीक्षण गरेका छन् । तर, यसपाली मकैबालीमा देखिएको अनौठो प्रकारको समस्याको कारण भने उनीहरुले पत्ता लगाउन सकेका छैनन् ।
अनौठो रोग लागेर बिग्रिएको मकैबाली देखाउँदै बारा बडहर्वाका किसान ।
केन्द्रका प्रमुख यादव भन्छन्, ‘पहिलो पटक मकैबालीमा यस्तो समस्या देखिएको छ। निरीक्षणमा गएका प्राविधिकले पनि यो समस्याको भेउ पाउन सकेनन्। त्यसैले यस विषयमा माथिल्लो निकायमा खबर गरिसकेका छौं।’स्थानय बीउ बिक्रेता टेकबहादुर राना भने नेपाल सरकारबाट सुचिकृत भएकै श्रेष्ठ जातको मकैको बीउ किसानले रोपेको भएपनि यसपाली मकै बालीमा अनौठो रोग देखा परेको बताउँछन्। किसानले श्रेष्ठ जातको बिउ लगेर रोपेका हुन्। यो सरकारबाट सूचिकृत भएकै जातको बीउ हो, उनले भने, ‘यसभन्दा अघिल्ला वर्षमा पनि किसानले यहि बीउ लगेर रोपेका थिए। मकै राम्रै फलेको थिए तर यसपाली भने अनौठो रोग बालीमा देखिएको छ। क्रान्ति शाह