पर्सा। हुण्डी कारोबार गरेको आरोपमा पर्सामा चार व्यक्ति पक्राउ परेका छन्। उनीहरूको साथबाट स्रोत नखुलेको २६ लाख ७१ हजार रूपैयाँ बरामद् गरिएको पर्सा प्रहरीले जनाएको छ।आज सातलाख रूपैयाँसहित दुईजना र १२ फागुनमा १९ लाख ७१ हजार रूपैयाँसहित दुईजनालाई पर्सा प्रहरीले पक्राउ गरेको हो।प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका-१६ स्थित भन्सार कार्यालयको गेटअगाडिबाट पक्राउ परेका भारत रक्सौल डुमरियाटोलका विजयकुमार ठाकुर (३५)को साथबाट चार लाख रूपैयाँ र वीरगञ्ज–१६, नगवाका राजुकुमार कलवार (३१)को साथबाट तीन लाख रूपैयाँ बरामद् गरिएको हो।
ठाकुरले प्रयोग गरेको बीआर०५एए र कलवारले प्रयोग गरेको बीआर०५डी५०१८ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरू भारतको रक्सौलबाट वीरगञ्जतर्फ आइरहेका थिए।त्यस्तै १२ फागुनमा वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरबाट पक्राउ परेका रौतहट घर भई हाल वीरगञ्ज–१६, नगवा बस्ने सञ्जकुमार साह (४१)को साथबाट ९ लाख ७१ हजार र वीरगञ्ज–१६ कै जयलाल महतो (३०) को साथबाट १० लाख रूपैयाँ बरामद् गरिएको छ। उनीहरूले प्रयोग गरेको बा४८प ६५९७ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।स्रोत नखुलेको रकमसहित पक्राउ परेका चारैजनालाई अवैध वित्तीय कारोबार (हुण्डी) शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको पर्सा प्रहरीको भनाइ छ।