पर्साको सिर्सिया खोलामा उद्योगको ढल, बग्दा सिर्सिया खोलाको पानी पूरै कालो
वीरगंज संजाल
१२ फाल्गुन २०७६, सोमबार १२:१९
५२४५
वीरगन्ज । पर्साको सिर्सिया खोलामा हेलिएर वीरगन्जका अधिवक्ता सुरेन्द्र कुर्मी पौडी खेल्न सिपालु भए । वीरगन्जस्थित रमगढवाका कुर्मीलाई सिर्सिया खोलामा अहिले पनि पौडिन मन लाग्छ । तर, उनको जाँगर खोलाको कालो न कालो पानीले मारिदिन्छ ।
बाल्यकालमा सिर्सियामा घन्टौं पौडी खेल्ने उनलाई सिर्सियाको प्रदूषित पानीले निराश बनाएको छ । त्यसैले दुई वर्षयता सिर्सिया खोला सफाइ अभियान नै थालेका छन् । त्यससँगै वीरगन्ज प्रदूषणमुक्त अभियानलाई पनि जोडेका छन् ।
सिर्सिया खोला प्रदूषणको आरोपमा गत कात्तिकमा एक छाला उद्योगका व्यवस्थापक तथा प्रबन्धक गरी दुई जनालाई प्रहरीले पक्राउ गर्यो । त्यसपछि खोलाको पानी संग्लिने आशा बढेको थियो । तर, त्यसको दुई साता नबित्दै खोलामा फेरि कालो पानी बग्न थाल्यो । व्यवस्थापक र प्रबन्धक नै पक्राउ परेपछि खोलामा मिसाइएको उद्योगको ढल बन्द त भयो । तर, घटना सामसुमपछि फेरि पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगले फोहोर पानी मिसाउन थाले ।
‘सिर्सियाको पानी सफा बनाउनैपर्छ,’ कुर्मीले भने, ‘खोलाको पानी दूषित हुँदा समाजलाई नै असर परेको छ । आउँदो पुस्ताका लागि पनि खोला सफाइलाई निरन्तरता दिनुपर्छ ।’ तीन दशकयता यो खोला प्रदूषणको चपेटामा परेको हो । खोलाको पानी मानव तथा चौपायाका लागि प्रयोगयोग्य छैन । खोलाको कालोपानीले सिँचाइ पनि सम्भव छैन । खोलामा धार्मिक परम्पराअनुसार पूजापाठ गर्न र मृत्युमा अन्त्येष्टि संस्कार गर्नसमेत अप्ठेरो छ । बाराको सिमरास्थित रामवनबाट निस्केको खोला करीब ३ किमी दक्षिण बगेपछि प्रदूषित हुन थाल्छ । वीरगन्जसम्म बग्दा त खोलाको पानी पूरै कालो भइसक्छ ।
सफाइ अभियानले पुस १७ गते वीरगन्जको घण्टाघरमा धर्नासमेत थालेको थियो । त्यसअघि हस्ताक्षर संकलन, सर्वदलीय सर्वपक्षीय भेला, प्रदूषणको कारक ५१ उद्योगविरुद्ध जिल्ला अदालतमा मुद्दा लगायतका दबाबमूलक अभियान थालिएको थियो । तर, लामो समयको जनदबाबले पनि सिर्सिया खोला प्रदूषणमुक्त हुन सकेको छैन । अभियानका सचिव वृजेश्वरप्रसाद चौधरीले सिर्सिया खोला सफाइका लागि साताभित्रै संघर्षको अर्को कार्यक्रम तय गरिने बताए ।
पर्सा–बारा औद्योगिक कोरिडोर भएर बग्ने क्रममा सिर्सिया खोलाले यहाँका उद्योगहरूबाट छोडिएको प्रदूषित पानी र रसायन लिएर भारतमा प्रवेश गर्दा भारतीय पनि आजित छन् । वीरगन्ज नजिकको भारतीय सहर रक्सौलका स्थानीयले समेत यो खोलाको प्रदूषण नियन्त्रणका लागि महाअभियान चलाएका छन् । Yatradaily