बीरगञ्ज महानगरका सडक डिभाइडरमा बोटभन्दा विज्ञापनका बोर्ड बढी
वीरगंज संजाल
११ फाल्गुन २०७६, आईतवार १२:०३
६९२३
बीरगञ्ज | बीरगन्जको सडकका डिभाइडरमा रुख–बिरुवाभन्दा विज्ञापनका बोर्डले ठाँउ ओगटेका छन् । घण्टाघरदेखि पावर हाउससम्मको डिभाइडरमा रहेका विज्ञापनका बोर्डले बीरगन्ज कुरुप देखिएको छ । डिभाइडरमा जगदम्बा ग्रुपको सबैभन्दा बढी बोर्ड देखिन्छ । यस्तो लाग्छ कि बीरगन्ज महानगर जगदम्बा महानगर हो ।
सडकका डिभाइडरमा जगदम्बा गुप्रको जगदम्बा सिमेन्ट कंक्रिटो र जगदम्बा वेल्डिङ रोडको ८, जगदम्बा सिमेन्टको ३ र टफवुड गोल्डको ५ वटा बोर्डहरु राखिएका छन् । यसको अलावा, बयोधा हस्पिटलको ८ वटा, सिके बिरला ग्रुपको ३ थान, जेसी विल्डर्स प्रालि र मगनम कोल प्रालिको २–२ वटा बोर्ड छन् ।
आफ्नो बोर्ड लगाएर प्रचार गर्नेहरुले डिभाइडरमा बिरुवा रोप्ने त परै जाओस्, गोडमेल गर्न कुनै चासो देखाएका छैनन् । यसअघि, डिभाइडरलाई बाँसको भाँटाले बेरेर बिरुवाको संरक्षण गर्ने गर्ने प्रयास भएको थियो । तत्कालीन संविधानसभा सदस्य बिचारी यादवको पहलमा सो कार्य भएको थियो । तर मधेस आन्दोलनको क्रममा आन्दोलनकारीले नोक्सान पु¥याएपछि बीरगंज महानगरले डिभाइडरमा फलामे बार लगाएको हो । सो डिभाइडरमा प्रकृति सेवा प्रतिष्ठानले समेत समय–समयमा बिरुवा लगाउँदै आएको छ । केही बिरुवा बचेर हुर्केका पनि छन् । तर होडिङ्ग बोर्ड ठड्याएर प्रचारप्रसारमा लागेको जगदम्बासहितका कम्पनीले त्यसको उचित संरक्षण चासो देखाएका छैनन् ।
सबभन्दा बढी विज्ञापनका बोर्ड राखिएका जगदम्बा गुप्रका सञ्चालक राजेश अग्रवाल बीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीका सम्धीसमेत हुन् । सरावगी बीरगन्ज महानगरको नगर प्रमुखमा चुनिएलगत्तै अग्रवालले आफ्नो गुप्रको उत्पादनका बोर्डहरु डिभाइडरमा लगाएका थिए ।
यसैबीच, बीरगन्ज महानगरपालिका राजश्व फाँटका प्रमुख रामदयाल यादव विज्ञापनको बोर्ड राख्न कुनै संस्था, उद्योग वा प्रतिष्ठानसँग सम्झौता नभएको बताउँछन् । ५ वर्षका लागि गरिएको भनिएको सम्झौतामा सडक डिभाइडरमा माटो पुर्ने, वृक्षारोपण र त्यसको संरक्षणको जिम्मा जगदम्बाको हुने भनिएपनि यसमा न महानगर न अरु कसैले चासो देखाएका छन् ।
यस विषयमा प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहले डिभाइडरमा ‘बोर्ड होइन बोट’ हुनुपर्ने बताउनु भएको छ । उहाँले बोट विरुवा हुर्काउनु अघि नै ठूला बोर्ड राखेर प्रचार गर्नु गलत भएकोले प्रतिष्ठानले निरन्तर यस्तो कार्यको बिरोध गर्ने बताउनुभयो । यस्तै, नेता विचारी यादव डिभाइडरमा बिरुवा लगाउने र संरक्षण गर्ने नाममा प्रचार मात्रै गर्नु गलत भएको बताउनुभयो ।यता, नगर प्रमुख विजयकुमार सरावगी डिभाइडरलाई व्यवस्थित राख्न प्रयास गरिए पनि असफल भएको स्वीकार गर्नुहुन्छ । Nepalpostdaily