जन्मदिन मनाउन प्रधानमन्त्री ओलीकाे जन्मघर आठराई जाँदै
वीरगंज संजाल
११ फाल्गुन २०७६, आईतवार १०:५७
४८५७
काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मदिन तेह्रथुमको आठराईमा मनाउने भएका छन् । आठराई ओलीको जन्मथलो हो ।प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार, प्रधानमन्त्री ओली बिहान ९ बजेपछि तेह्रथुम प्रस्थान गर्नेछन् ।
प्रधानमन्त्री ओलीको जन्मघर साविकको इवा गाविस २ खानीगाउँ हो । हाल राज्य पुनर्संरचनापछि यो ठाउँ आठराई गाउँपालिका ४ मा पर्दछ । प्रधानमन्त्री ओली आउने खबरले गाउँमा चहलपहल बढेको छ ।प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी कार्यक्रमको चाँजोपाँजो मिलाउन केही दिन अगाडिदेखि नै आठराईमा छन् ।
प्रधानमन्त्री ओली पाँचथर हुँदै जन्मथलो पुग्ने छन् । प्रधानमन्त्री आएको मौका पारेर आठराईबासीले बिभिन्न कार्यक्रमसमेत आयोजना गरेका छन् । ती कार्यक्रमहरुमा ओली सहभागी हुने छन् ।
प्रमुख स्वकीय सचिव भण्डारीका अनुसार आठराई पुग्नुअघि प्रधानमन्त्री ओली सुरुमा पाँचथरको खानेपानी उदघाटन कार्यक्रममा सहभागी हुने छन् ।
आठराई पुगेपछि प्रधानमन्त्री ओलीले सुकेपोखरी–ढुंगेसाँघु सडकको शिलान्यास र नेपाल बैंक शाखाको उदघाटन गर्नेलगायत कार्यक्रम छ ।त्यसपछि गाउँले साथीभाइहरुसँग बसेर जन्मदिन मनाउने कार्यक्रम निर्धारण गरिएको भण्डारीले जानकारी दिए । Nepalpostdaily