विश्व दक्षिण कोरियामा कोरोना : सङ्क्रमितको सङ्ख्या एकैदिन दोब्बरले बढ्याे
वीरगंज संजाल
११ फाल्गुन २०७६, आईतवार ०७:१५
४३२३
वीरगंज | दक्षिण कोरियामा एकै दिनमा कोभिड–नाइन्टिन (१९) अर्थात् कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या झण्डै दोब्बरले बढेकाे छ ।शुक्रबारसम्ममा दुई सय २९ जनामा कोरोना सङ्क्रमण रहेकोमा शनिबार एकैदिन दुई सय चार जनामा सङ्क्रमण भएर सङ्क्रमितको सङ्ख्या चार सय ३३ पुगेको बीबीसीले जनाएको छ ।
दक्षिण कोरियाका स्वास्थ्य उपमन्त्री किम गा लिपले कोरोना भाइरसको प्रकोप गम्भीर चरणमा प्रवेश गरेको बताएका छन् । दक्षिण कोरियामा कोरोना भाइरसबाट दुई जनाको ज्यान गइसकेको छ । डाएगु र चेओङ्डोलाई विशेष हेरचाह क्षेत्र घोषणा गरिएको छ । डाएगुका सडकमा मानिस निस्कन छाडेका छन् ।कतिपय सैनिकहरूमा पनि कोरोना भाइरस सङ्क्रमण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनि निश्चित घेरामा सीमित गरेको छ ।
चीनमा अधिकारीहरूले नयाँ सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको बताएकै बेला दक्षिण कोरियामा भने सङ्क्रमितको सङ्ख्या बढेको हो ।चीनमा अहिलेसम्म कोरोना भाइरसको कारण दुई हजार तीन सय ४५ जनाको ज्यान गएको छ भने ७६ हजार दुई सय ८८ जनामा सङ्क्रमण भएको पाइएकाे छ । चीनबाहिर विभिन्न देशमा गरी २० जनाको ज्यान गएको र एक हजार दुई सयभन्दा धेरैमा सङ्क्रमण भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।
चीनबाहिर सङ्क्रमितको सङ्ख्या तुलनात्मक रुपमा थोरै भए पनि स्वरुप भने चिन्ताको विषय रहेको विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डाक्टर टेड्रोस अदानोमले बताएका छन् । यसैबीच जापानको योकोहामा बन्दरगाह क्वारेन्टाइनमा रहेको पानीजहाजबाट उद्धार गरेर अमेरिका लगेकामध्ये ११ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । गएको हप्ता अमेरिकाले पानीजहाजमा रहेका आफ्ना चार सय नागरिकमध्ये सङ्क्रमण भएका ४० जनालाई जापानमै उपचारका लागि छाडेर तीन सय ६० जनालाई स्वदेश लगेको थियो ।अमेरिकाले परीक्षणका क्रममा कोरोना सङ्क्रमण नभएको पुष्टि भएपछि आफ्ना नागरिक लगेको भए पनि १४ दिने क्वारेन्टाइनमा राखेको बेला सङक्रमण देखिएको बीबीसीले जनाएको छ ।