जनकपुरधाम | राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जनताका मुद्दा सम्बोधन नभएसम्म सरकारका जान नसकिने बताएका छन् । महतोले संविधान संशोधन, रेशम चौधरीसहितको रिहाइ र आफ्ना कार्यकर्ताहरुमाथि लागेका मुद्दा फिर्ता नभएसम्म सरकारमा जान नसकिने बताए ।
धनुषाको जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर २० देवपुर रुपैठामा शनिबार धर्मशाला शिलान्यास गर्दै नेता महतोले भने, ‘जनताका मुद्दा सम्बोधन भएपछि सोंच्न सकिन्छ । तर अहिले सरकारमा जाने कुनै कुरा छैन ।’
संसद विकास कोषको रकम पहिला चार करोड रहेको र अहिले ६ करोड भएको बताउँदै उनले यो सम्पूर्ण रकम जनताकै लागि खर्च गरिने बताए । ‘यो पैसा तपाईंहरुकै हो । यसबाट तपाईंहरुकै योजना कार्यान्वयन हुन्छ,’ उनले भने ।
संसदीय कोषको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्ग २५ लाख रुपैयाँ लागतमा धर्मशाला निर्माण गरिने भएको छ । Nepalpostdaily