वीरगंज | वीरगंज–पथलैया ६ लेन व्यापारिक मार्गको कामले तीव्रता लिन सकेको छैन। २०७३ असार २९ गते शुरू भएको वीरगंज–पथलैया ६ लेन व्यापारिक मार्गको काम सम्झौता अनुसार २०७५ पुस २८ गते अर्थात् तीस महीनामा पूरा गर्नुपर्ने थियो । तर तोकिएको समयमा काम पूरा हुन नसकेपछि वीरगंज–पथलैया ६ लेन व्यापारिक मार्ग निर्माण अवधि २०७७ असार मसान्तसम्म सम्पन्न गर्न अन्तिमपटक म्याद थप गरिएको छ तर अहिलेसम्मको कामको प्रगति हेर्दा थप गरिएको अन्तिम अवधि २०७७ असार मसान्तसम्म कुनै पनि दृष्टिकोणबाट काम सम्पन्न हुने लक्षण देखिएको छैन । सम्झौता भएपछि तोकिएको समयमा काम सम्पन्न हुन नसक्नुको प्रमुख कारण जीतपुर–परवानीपुरको अतिक्रमण देखाउने ठेकदार कम्पनीहरूले अहिले अतिक्रमण खाली भएपछि पनि कामलाई गति प्रदान गर्न सकेका छैनन् । पथलैयादेखि सिमरासम्मको सडकखण्डमा खासै प्रगति भएको छैन।
हुलास अगाडिदेखि सिमरा बजारअगावैसम्म मात्र चार लेनको सडक सम्पन्न भएको छ भने त्यसमा दुई लेनको सडक बनाउने कार्य निकै सुस्त गतिमा छ । हुलासदेखि पथलैयासम्मको क्षेत्रमा पनि माटो सम्याउने, ग्रेभल गर्ने जस्ता कामहरू तीव्र गतिमा हुन नसकेको कारण केही महीनादेखि ठेकेदारले जेसिबीको प्रयोग गरेर काम गरिरहेको जनाउ दिने कार्य मात्र गरिरहेका छन् । सो क्षेत्रमा यसअघि वनक्षेत्र रहेको र रूख कटानको समस्यालाई ठेकेदारले म्याद थपको साधन बनाएको थियो । तर वनक्षेत्रबाट रूख कटान भएको महीनौं बितिसकेको छ भने पेट्रोलियम पाइपलाइन जडान भएर सञ्चालनमा पनि आइसक्दा सडकको काम भने खासै प्रगतिमा छैन ।
सिमरा बजारदेखि जीतपुर, परवानीपुर, वीरगंज गण्डक क्षेत्रसम्मको अवस्था झनै कहालीलाग्दो छ । परवारनीपुरमा रहेको सुक्खा बन्दरगाह जाने बाटोदेखि जीतपुरस्थित सेनाको ब्यारेक नपुग्दैसम्म मात्र चार लेन कालोपत्र भएको छ । सो क्षेत्रमा पनि थप दुई लेनको काम भने कछुवा गतिमैं छ । योबाहेक जीतपुर, परवानीपुरदेखि वीरगंजको गण्डकसम्म पुल बनाउने काम सम्पन्न हुन सकेको छैन । यसैगरी, सडकमा माटो सम्याउने काम भइरहेको छ । गण्डकदेखि परवानीपुरसम्म पुरानै कालोपत्र सडक अहिलेसम्म सञ्चालनमा छ । त्यहाँ कामको शुभारम्भ गरिएको छैन । यो अवस्थाको आकलन गर्दा पुरानो कालोपत्र सडक भत्काउने, माटो सम्याउने, ग्रेभल गरेर कालोपत्र हुनेसम्मको काम आगामी असारसम्म कुनै पनि हालतमा सम्पन्न होला जस्तो नरहेको स्थानीयवासीको भनाइ छ । ६ लेन वीरगंज–पथलैया व्यापारिक सडक निर्माणको लागि गण्डकदेखि पथलैयासम्म दुवैतर्पm नाला बनाएर सीमा निर्धारण गर्ने काम भने जोडतोडले भइरहेको छ । निर्धारित ठाउँमा पुनः अतिक्रमण नहोस् भनेर नाला निर्माणलाई तीव्रता दिए पनि सडक, पूmटपाथको निर्माण काम भने सुस्त गतिमा चलिरहेको छ ।
ठेक्का सम्झौता र प्रगति
व्यापारिक मार्ग विस्तार योजना (वीरगंज–पथलैया) अन्तर्गत पथलैया–परवानीपुर–श्रीसिया सुक्खा बन्दरगाह, एकीकृत चेकपोस्टसम्म २६.४४ किमी ६ लेन र परवानीपुर–गण्डकचोक–वीरगंजसम्म ४.२५ किमी चार लेन सडक तथा पुल निर्माणको लागि ७ वटा प्याकेजमा रु ५ अर्ब २० करोडमा ठेक्का सम्झौता भएको थियो । तोकिएको समयमा काम पूरा नभए कारबाई गर्ने योजनाको कार्यालयले जनाउँदै आएको छ । व्यापारिक मार्गमा अहिलेसम्म ६५ प्रतिशत कार्य प्रगति भएको र ३५ प्रतिशत काम तोकिएको समयमा पूरा गराउन ठेकेदार कम्पनीलाई खासै दबाब दिएको पाइएको छैन ।
वीरगंजको गण्डकदेखि परवानीपुरसम्मको क्षेत्रमा ठेकेदारले चरम लापरवाही गरेको छ । सो क्षेत्रमा सडकखण्डको दुवैतर्पm आसपासका उद्योगहरूले राखेको छाइको भण्डार क्षेत्रमा नै अहिले नयाँ माटो हालेर मिलाउने र छाइसहितको माटो सम्याउने काम भइरहेको छ ।
ठेकेदारले पुरानो बाटोको दुवैतर्पm राखिएको छाइलाई खनेर हटाउनुपर्ने र त्यहाँ नयाँ माटो राखेर काम गर्नुपर्ने प्राविधिकहरू बताउँछन् । तर सार्वजनिकरूपमा खुलेयाम यस्तो विकृति भइरहँदा पनि कुनै अनुगमन छैन, कारबाई छैन । यो पारामा निर्माण हुने सो क्षेत्रको कालोपत्र धेरै वर्षसम्म चल्नै नसक्ने प्राविधिकहरूको दाबी छ । छाइ नहटाएर बनेका क्षेत्रमा सडक भासिने सम्भावना बढी हुने उनीहरूको भनाइ छ । आइसिपी, सुक्खा बन्दरगाह र वीरगंज भन्सारबाट छुट्ने धेरै भार क्षमताका सवारीसाधनहरू चल्ने यो सडकखण्डमा यस प्रकारको लापरवाही भइरहँदा पनि सम्बन्धित कार्यालय, त्यसका अनुगमनकर्ता प्राविधिक टोलीले रोकथाम नगर्नु आश्चर्यको विषय भएको छ ।रासस