वीरगंज । नेपाल एउटा फुलवारी नै हो र यहाँ विभिन्न भाषा बोल्ने फूलबारीका फूलहरु छन् । चाहे ‘ल्हासो’ भनुन ‘नमस्ते’ भनुन या ‘सलाम-वालेकुम’ भनुन या ‘जदौ’ या ‘तारेमाम’ यहाँ विविधता भेटिने अनेक भाषाको एउटै मतलब छ र त्यो हो प्रेम, राष्ट्रियता अनि सद्भाव । आउनुहोस् जुनसुकै भाषा बोल्ने सकल नेपालीजनमा आजको यो अन्तर्राष्ट्रिय मातृभाषा दिवसको हार्दिक शुभकामना दिऔं । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस हो । सन् २००० देखि संयुक्त राष्ट्र संघले आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई वहुभाषिक र वहुसांस्कृतीक जनसंख्या अनि त्यो जनसंख्यासंग जुटेका विविध भाषाको कदर स्वरुप हरेक वर्षको फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको विगुल बजाउन आग्रह गरेको थियो ।
मानव सभ्यता अनि अभिब्यक्तिकालागि भाषा एउटा महत्वपूर्ण आधार हो, भाषाका माध्यमबाट हामीले हाम्रा धेरै प्रत्यक्ष अनि परोक्ष सांस्कृतीक सम्पत्तिहरुको रक्षा र संग्रह गर्दै आएका छौं, त्यसैले त आज पनि भाषा अनि लिपिमा लिपिबद्ध दस्तावेजहरु श्रीमद्ध भाग्वत गीता, कुरान, बाईबल, त्रिपिटक आदि थुप्रै ग्रन्थ अनि वेदहरु जोगाएका छौं । नत्र भाषा नहुने हो भने यी हज्जारौं वर्ष अगाडिका ग्रन्थहरु आज पनि हाम्रा सिरानी, सन्दुक तथा मनभित्र कहाँ हुन्थे र ?
आफ्नै मातृ भाषामा विद्यालय अनि विश्वविधालयका पाठ्यक्रमहरु उपलब्ध भएमा अध्यन कति सहज हुन्थ्यो होला ! यस्ता प्रकारको सहज सिकाई अनि पाठ्यक्रममा पनि जोड दिन जरुरी छ । राष्ट्रिय भाषा नेपाली त हाम्रो मुटुमै छँदै छ तर मातृभाषाको स्वादमा विषयबस्तुको सहज बुझाई पनि मानव अधिकार हो । कमसेकम शुरुवाती सिकाईहरु मातृभाषामा भर्इदिए हुर्कंदै गरेका केटाकेटीहरूका बुझाइकालागि विषयबस्तुहरु उसकालागि सहज र सरल हुन जान्छ ।
भारतबाट पाकिस्तान छुट्टिएपछि अहिलेको बङ्गलादेशलाई पूर्वि पाकिस्तान भनिन्थ्यो । आजको दिन सन् १९५२ मा बङ्गाली भाषाको औपचारीक प्रयोगकालागि बङ्गला युवाहरुले गरेको प्रदर्शन अनि त्यसमा मारिएका भाषाप्रेमी शहिदहरुको बलिदानको सम्झना स्वरुपमा मनाईन्छ । स्मरण रहोस् भारत र बङ्गलादेश मात्र यस्ता देश हुन जसको राष्ट्रगान एकै ब्यक्तिले रचना गरेका थिए, उनी हुन पण्डित रविन्द्र नाथ टेगौर । संसारमा यो भाषगत् अनि राष्ट्रिय पहिचानका मूलस्तम्भ राष्ट्रिय गान नै एकै कवीले लखेको उदहारण अहिलेसम्म अन्यत्र छैन् ।
यो विशेष दिन विश्वव्यापी रूपमा मातृभाषाको महत्व र यसको संरक्षणार्थ जनचेतना फैलाइन्छ । आजकै दिन सन् २००२ मा लोप हुन लागेका करीब ३००० भाषाप्रति मानिसहरुको ध्यानाकर्षण गराउने अाैपचारिकता अारम्भ गरिएको थियो । त्यस वर्ष UNESCO ले “यो भाषाहरुको ब्रह्माण्डमा हरेक शब्द एक तारा बराबर हुन्” भन्ने नाराकासाथ लोप हुनलागेका भाषाहरुमा सम्बन्धि समाजलार्इ प्रकाश पार्न महत्वपूर्ण कदम चालेको थियो ।
पहिचानको दौडमा बेजोडले कुदिरहेको नेपाल अनि नेपालीका परिवर्तित आकांक्षाहरुले सम्पूर्ण नेपालीहरुका भाषा अनि पहिचानलाई आत्मसाथ गर्दै अगाडि बढ्न सकुन्, भाषा अनि बोली दुबैको सम्मान होस् ।