ट्रेडमार्क मुद्दामा नेरोल्याक ब्रान्ड जापानी कम्पनीको जित, अब बिदेशी कम्पनि नेपालमा आउने सम्भावना बढयो
वीरगंज संजाल
८ फाल्गुन २०७६, बिहीबार १७:३६
४४७५
वीरगञ्ज । ६ वर्ष लामो न्यायिक लडाईंपछि अन्ततः बहुराष्ट्रिय कम्पनी कान्साई नेरोल्याक पेन्ट्स नेपाल प्रालिले ट्रेडमार्कसम्बन्धी मुद्दामा जित हात पारेको छ । सर्वोच्च अदालतको फैसला कान्साईको पक्षमा आएपछि यो कम्पनीले अब पूर्ववत् ब्रान्ड कान्साई नेरोल्याक पेन्ट्सकै नाममा उत्पादन गर्न पाउने भएको हो ।
जापानी बहुराष्ट्रिय कम्पनीले नेपालमा उत्पादन शुरू गरेलगत्तै कान्साई नेरोल्याक आप्mनो ब्रान्ड भएको दाबी गर्दै रुक्मिणी केमिकल इन्डस्ट्रिजले उद्योग विभागमा उजुरी दिएको थियो । कान्साई नेरोल्याकको ट्रेडमार्क रुक्मिणीको नाममा दर्ता भएको भन्दै विभागले कान्साईलाई सो ब्रान्ड प्रयोगमा प्रतिबन्ध लगाएको थियो । कान्साई जापान, भारत र नेपालका लगानीकर्ताले वीरगञ्जमा सञ्चालनमा ल्याएको उद्योग हो ।
उद्योग विभागको निर्णयविरुद्ध कान्साई २०७० सालमा सर्वोच्च अदालत पुगेको थियो । बुधवार न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलाशले सो ट्रेडमार्कमा रुक्मिणी केमिकल इन्डस्ट्रिजको दाबी नपुग्ने भन्दै कन्साईको पक्षमा फैसला सुनाएको कान्साईका कानून व्यवसायी दामोदर तिम्सिनाले जानकारी दिए । अब कान्साईलाई पुरानै टे«डमार्क प्रयोगको कानूनी बाटो खुलेको तिम्सिनाले आर्थिक अभियानलाई बताए ।
उद्योग विभागको निर्णयपछि उद्योगले केएनपी जापानको नाममा उत्पादन गर्दै आएको थियो । लामो कानूनी लडाइँपछि सत्यको पक्षमा फैसला आएको उद्योगका सञ्चालक अशोककुमार वैदले बताए ।
भारतमा उत्पादन गरिरहेको कान्साई नेपाल आउनु केही महीनाअघि रुक्मिणीले उद्योग विभागमा सो ब्रान्डलाई आप्mनो नाममा दर्ता गराएको थियो । कान्साईले उत्पादन थालेपछि ऊ उद्योग विभागमा उजुरी गर्न पुगेको थियो ।
अहिले नेपालमा केही व्यवसायीले बहुराष्ट्रिय कम्पनीको टे«डमार्क दर्ता गराएर बाह्य लगानीकर्तालाई दुःख दिने गरेको पाइएको छ । यस्तो गिरोह नै सक्रिय रहेको अवस्थामा अदालतको यो फैसलाले त्यस्तो गलत प्रवृत्तिको मनोबल खस्किने दाबी लगानीकर्ताले गरेका छन् ।