सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको छ । गाउँपालिकाभरका वृद्धवृद्धालाइ चिसोबाट राहत दिलाउन न्यानो फाईबरको कपडा सिरक वितरण गरिएको हो ।
गाउँपालिकाका ६ सय ८४ जना जेष्ठ नागरिक (वृद्धवृद्धा) लाई फाईबरको सिरक वितरण गरिएको हो । आर्थिक रुपमा अति विपन्न, एकल, अपाङ्ग र ७० वर्षमाथिका वृद्धवृद्धालाई गाउँपालिकाले फाइबरको सिरक, बिस्कुट र जुस वितरण गरेको हो ।
‘चिसोका कारण वृद्धवृद्धामा निमोनिया, दम, खोकी बढ्दै गएपछि उनीहरुलाई चिसोबाट बचाउनका गाउँपालिकाका ८ वटै वडाका जेष्ठ नागरिकलाई न्यायो कपडा वितरण गरिएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कारसाङ लामाले बताए ।
गाउँपालिकाका वृद्धवृद्धालाई सम्मानस्वरुप माघको अन्तिम साताबाट वडावडामा गएर जेष्ठनागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको लामाको भनाइ थियो ।
लामाले भने– ‘बागमती किनार र मरिण किनारको बिहान-बेलुका लागेको हुस्सुका कारण वृद्धवृद्धालाई चिसोले असर गरेपछि जनगुनासो र अपेक्षाअनुरुप अनुभवका धनी वृद्धवृद्धालाई सम्मान स्वरुप न्यानो कपडा वितरण गरेका छौँ ।’
लामाले थपे– ‘अति विपन्न, दलित तथा आदीवासी जनजातीहरुको बाहुल्यता रहेको गाउँपालिकामा आर्थिक रुपले अधिकांश विपन्न रहेका छन्, उनीहरु बाँसको टाटीमात्र भएका घर र छाप्रामा सुत्न बाध्य भएका कारण वृद्धवृद्धाहरु विमारी हुन थालेपछि पौष २८ गते बसेको गाउँसभाबाट बजेटको व्यवस्थापन गरेर ढिलै भए पनि न्यानो कपडा वितरण गरेका हौँ ।’
गाउँपालिकाका चिसोका कारण विमारी भएका कतिपय वृद्धवृद्धाहरु आर्थिक अभावका कारण उपचारका लागि अस्पताल जान समेत नसकिरहेका बेला न्यानो कपडा वितरणले सानो सम्मानले केही राहत पुगेका हरिहरपुरगढी गाउँपालिकाकी उपाध्यक्ष अनिता राईले बताइन् ।
जेष्ठ नागरिका सम्मान स्वरुप न्यानो कपडा वितरण गर्न प्राविधिक कारणले ढिला भएतापनी अन्यथा नलिदिनुहुन समेत राईले आग्रह गरिन् । ‘कतिपय वृद्धवृद्धा आफ्नै सन्तानवाट अपहेलित हुनुपरेको छ, तसर्थ यो सम्मनले आफ्नो सन्तानबाट वृद्धवृद्धालाई मायाँ गरुन भन्ने उदेश्यले यो कार्यक्रम सुरु गरिएको हो’ राईले भनिन् । News 24