काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण चीनको वुहानमा एक अमेरिकीको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली थप त्रसित बनेका छन् ।अन्य मुलुकका नागरिकलाई सरकारले फिर्ता लगिसके पनि प्रक्रिया पूरा गर्न ढिलाइ हुँदा नेपालीलाई फर्काउन सकिएको छैन ।दुई सातादेखि बन्द कोठामा रहेका नेपाली विद्यार्थीले निराश भएर शनिबार फेरि सरकारलाई पत्र लेखेका छन् ।
उनीहरूले शुक्रबार पनि दुई दिन पर्खने र आफूहरूलाई फिर्ता नगरे अन्तर्राष्ट्रिय निकाय गुहार्ने चेतावनी दिएका थिए ।सरकारले आवेदन फाराम भर्न लगाएको एक साता बित्दा पनि फिर्ता ल्याउन गम्भीर नबनेको भन्दै नेपाली विद्यार्थी आक्रोशित बनेका छन् ।प्रधानमन्त्री केपी ओलीले नेपालीलाई तुरुन्त स्वदेश ल्याउन सम्बन्धित मन्त्रीहरूलाई दुईपटक निर्देशन दिइसके ।
प्रधानमन्त्रीका सल्लाहकारहरूले चिनियाँ पक्षको कुरा सुनेर ढिलाइ गरेको आरोप नेपाली विद्यार्थीको छ ।उनीहरूले आफ्नो नाम सञ्चारमाध्यममा आउँदा पढाइमा असर गर्ने भन्दै खुला रूपमा बोल्न मानेनन् ।विद्यार्थीले शनिबार ‘विनाशकाले विपरीत बुद्धि’ शीर्षकमा परराष्ट्रमन्त्री ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई सम्बोधन गरेर १८१ जनाका तर्फबाट सामूहिक पत्र पठाएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकबाट