मेयर विरुद्ध चर्को नाराबाजी गर्दै जनकपुरमा सडकमा उत्रिए युवा
वीरगंज संजाल
२४ माघ २०७६, शुक्रबार १५:०५
३८८५
जनकपुरधाम | जनकपुरधाम उप-महागरपालिकाका मेयर लालकिशोर साह विरुद्ध चर्को नाराबाजी गर्दै जनकपुरका युवा सडकमा उत्रिएका छन् । मेयरको कार्यकक्षमा गत पुस २२ गते पत्रकारमाथि भएको दुर्व्यवहारकाे विराेध र नगरपालिकाका कर्मचारीले अवरूद्ध काम तत्काल सुचारू गरेर सेवाग्रहीलाई सेवा दिनुपर्ने माग गर्दै आज उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।
पछिलो समय जानकी मन्दिरको पूर्वपट्टिको फूलबारीलाई अतिक्रमण गरेर मेयर लालकिशोर साहले मोटो रकम व्यापारीहरुसंग उठाएको आरोप लाग्दै आएको छ । मेयर लालकिशोर साहलाई भ्रष्टाचारीको संज्ञा दिँदै आज दर्जनाैँ स्थानीय युवा अगुवाहरु मेयर साहको राजिनामा मागसहित प्रदर्शनमा उत्रिएका हुन् ।
जनकपुर ८ स्थित रामानन्द चौकमा युवाहरुले बाटो अवरुद्ध गर्दै मेयर लालकिशोर साह र उपमेयर रीता मिश्रसहित नगरपालिका कर्मचारी यूनियनका अध्यक्ष कृष्ण कुमार झाको राजीनामा माग गरेका हुन् । उनीहरू मेयर-उपमेयरविरूद्ध चर्काे नाराबाजी गरिरहेका छन्
युवा अगुवा सरोज मिश्र, शुशील कर्ण , किसन साह, भोला साह लगायतका दर्जनाैँ स्थानीय युवा सडक अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएका हुन् । झन्डै ४० मिनेट सडक अवरुद्ध भएपछि जनकपुरदेखि लामो तथा छोटो दूरीका सवारी साधन आवतजवातमा समस्या उत्पन्न भएको थियो ।
स्थानीय प्रहरीले ठुला र साना सवारीलाई वैकल्पिक रोड प्रयोग गरेर सड़क आवागमन सहज बनाएकाे थियाे । प्रदर्शनकारीहरूले सड़कमै कोणसभा समेत गरेका थिए । Nepalpostdaily