सिरियाको इदलिबमा हवाई आक्रमण जारी, नौ जनाको मृत्यु
वीरगंज संजाल
२२ माघ २०७६, बुधबार १५:२३
४१८५
रुसआवद्ध सेनाले बुधबार बिहानै सो क्षेत्रमा आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । मारिएका सर्वसाधारणमा केही बालबालिका पनि परेका मानवअधिकारवादी संघसंस्थाहरुले जानकारी दिएका छन् ।
‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले उक्त इदलिब क्षेत्रमा केही समय यतादेखि हिंसात्मक हमला नभएकोमा सोमबार यस प्रकारको हमला भएको पाइएको जनाएको छ ।
उक्त आक्रमण सोमबार बिहानबाट निरन्तर रहेको बताइएको छ । अधिकारीहरुले यस हवाई आक्रमण रुसआवद्ध रहेको सेनाले गरेको हुन सक्ने अनुमान गरिएको पनि प्राप्त समाचारमा जनाइएको छ ।
सिरियाली सरकारको सहयोगमा रुसमा विद्रोहीलाई लक्ष्यगरी रुसी सेनाले विभिन्न प्रान्तमा गर्दै आएको हवाई आक्रमणहरुमा बारम्बार सर्वसाधारणको मृत्यु भएको पाइन्छ ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलनमा शुरु भएको थियो । सो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।
वर्षौँदेखि जारी गृह युद्धका क्रममा सिरियामा हालसम्म तीन लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यहाँको यस प्रकारको गृहयुद्धबाट लाखौँ व्यक्ति घाइते भएका बताइएको छ । त्यसैगरी यहाँको हिंसामा परी दशौँ लाख व्यक्ति देशभित्र र छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन् ।