वीरगञ्ज । कुनै समय शैक्षिक र प्रशासनिक हिसावले चर्चित रहेको वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस यतिखेर समस्यै समस्यामा रोमलिएको छ । क्याम्पसमा रहेका बिभिन्न बेथितिहरुका कारण अहिले क्याम्पस आन्तरीक रुपमा कमजोर बन्दै गएको हो ।
बि.सं २००९ सालमा स्थापित वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको अवस्था पछिल्लो समय निकै दयनीय बन्दै गएको छ । क्याम्पसमा पुस्तक अभावदेखि शिक्षकहरुको अनुपस्थित, लथालिङ्ग भौतिक संरचना कमजोर बन्दै गएपछि क्याम्पसको अवस्था निकै दयनीय बन्दै गएको हो ।
हरेक वर्ष नयाँ बिद्यार्थी भर्ना लिने तर समयमा पुस्तक उपलब्ध नगराउने, नियमित क्यामपस संचालन नहुने र बाहिरी हस्तक्षेपमा पिरोलिएको बिद्यार्थीहरुको आरोप छ ।
यता क्यामपसको नियन्त्रणमा संचालनमा रहेको छात्राबासको हबिगत पनि उस्तै रहेको छ । निकै पुराना तथा जिर्ण भई सकेको छात्रावासको पर्खाल भत्कीएको ७ महिना भई सक्दा समेत क्याम्पसले वास्ता नगरेको विद्यार्थीहरुको आरोप छ ।
क्याम्पसको बेहाल देखेर विद्यार्थीहरु आजित भएका छन् भने क्याम्पस प्रमुख डाक्टर प्रमोद कुमार कुश्वाहा भने विद्यार्थीहरुले गुनासो गरे जस्तो क्याम्पसको अवस्था नरहेको बताउनु हुन्छ ।
नेपालका अधिकांस शिक्षाविद्हरुले नेपालको शिक्षाको स्तर उकास्नका लागि शिक्षालाई राजनीतिबाट टाढा राख्नु पर्ने मुल्याकंन गर्दै आएका छन् । तर दिन प्रतिदिन शिक्षण संस्थाहरुमा राजनीति मौलाँउदै गएको छ । ठाकुरराम क्याम्पस पनि पछिल्लो समय राजनीतिक अखडा बन्न थालेको स्थानीयहरुको भनाई छ ।