वीरगंज | प्रदेश नम्बर २ सरकारबाट गत आर्थिक वर्षको भुक्तानी नपाएका कारण प्रदेशसभा सांसद तथा सरोकारवाला आन्दोलित भएका छन् ।
गत आर्थिक वर्षमा भएको कामको चालु आर्थिक वर्षको आधा अवधि बितिसक्दा पनि भुक्तानी भएको छैन ।आन्दोलनकारीले केही अघि मुख्यमन्त्री लालबाबु राउत र प्रदेशका मन्त्रीहरुको फोटोमा सार्वजनिक स्थलमा जुत्ता प्रहारसमेत गरेका थिए ।
यसको मुख्य कारण विकास निर्माणमा भएको अनियमितता नै हो ।विकास निर्माणमा भएको अनियमितताका कारण प्रदेश २ सरकार पछिल्लो समय बदनाम हुँदै गएको छ ।
मन्त्रिपरिषद् पुनर्गठन गर्ने कुरा पनि उठेको छ । सरकारका मन्त्रीहरुले नै मन्त्रालयले गरेको कामको मूल्यांकन गरी मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने अवाज उठाइरहेका छन् ।
मुख्यमन्त्री नै फेर्ने चर्चासमेत शुरु भएको छ । राजपा र समाजवादी पार्टीका केही नेताहरुले मुख्यमन्त्रीको राजीनामा माग्न थालेका छन् ।गत वर्षको करिब ८६ करोड ४९ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी गर्न बाँकी छ ।
विभिन्न मन्त्रालयबाट विकासका लागि वितरण भएको करिब एक अर्ब रकममध्ये कतिपयले भुक्तानी पाइसकेका छन् । विकास कार्यमा अनियमितता भएको चर्चा चलेपछि भुक्तानी रोक्का गरिएको थियो ।
भुक्तानी रोक्का गरेपछि प्रदेश सरकारले त्यसबारे छानविनसमेत गरेको थियो ।विभिन्न मन्त्रालयबाट भएको कामको अनुगमन गर्नका लागि मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभाका सभामुख सरोज यादवको नेतृत्वमा ६ सदस्यीय छानविन समिति बनाएका थिए ।
सो समितिले छानविन गरी मुख्यमन्त्री राउतलाई प्रतिवेदनसमेत बुझाइ सकेको छ ।समितिले ८४२ योजनाको बारेमा छानविन गरेको थियो ।
विभिन्न मन्त्रालयले एक अर्ब १५ करोड रुपैयाँको काम भएको देखाएका थिए भने सरकारले छानविन गराउँदा ८६ करोड ४९ लाख रुपैयाँको मात्र काम भएको पाइएको छ । २८ करोड ५१ लाख रुपियाँको अनियमितता भएको समितिको निष्कर्ष छ ।
छानविनको प्रतिवेदन अनुसार विभिन्न मन्त्रालयले आफ्नो मातहतको क्षेत्रमा भएका कामको प्राविधिक मूल्यांकन गरेको थियो तर त्यसैलाई सो समितिले मूल्यांकन गर्दा साढे सातप्रतिशतले फरक परेको थियो ।nepalpostdaily