किसानलाई उखुको पैसा नदिने रिलायन्स चिनीमिलको अर्को बदमासी, फोहोर पानी सीधै नदीमा
वीरगंज संजाल
२२ माघ २०७६, बुधबार ११:१५
४४२३
बारा | बाराको कलैया उपमहानगरपालिका २४ श्रीपुरमा सञ्चालित रिलाइन्स सुगर एण्ड केमिकल इन्डष्ट्रिज प्रालिबाट उत्सर्जित पानीले क्षति पुर्याएको गुनासो आएपछि सोमबार प्रशासनले अनगमन गरेको छ।
चिनीमिलबाट निस्केको पानीले मानव स्वास्थ्य र पशुपक्षी र बालीनालीमा क्षति पुगेको भन्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल जिल्ला कमिटी बाराले सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकाशराज खनाल, सशस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुबेदीसहित युवा संगठनका नेताहरु सहभागि थिए।
उद्योगबाट निस्केको पानीले कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, प्रशौनी गाउँपालिका, फेटा गाउँपालिका, बिश्रामपुर गाउँपालिकाकोका मानवबस्ती, जीवजन्तु र कृषिमा असर पुगेको नेकपा जिल्ला सदस्य मुकेश साहले बताए |
उनका अनुसार नदीको पानीको असरले पशु चौपाया मर्नुका साथै स्थानीयमा छाला र स्वासप्रस्वाससम्बन्धी रोग देखिएको र बालीनालीमा क्षति पुगेको छ। प्रजिअको निर्देशन अनुगमनमा उखुबाट निस्केको विषादी तरल पदार्थलाई व्यवस्थित नगरी नाला र पाइपमार्फत बंगरी नदीमा पुर्याएको पाइएपछि तत्काल फोहोर पानी खोलामा मिसाउन बन्द गर्न प्रमुख जिल्ला अधिकारी पोखरेलले निर्देशन दिएका छन्।
चिनीमिल व्यवस्थापनले उद्योगभित्रै पोखरी निर्माण गरि पानी व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएको अनुगमनमा सहभागि नेकपाका नेता साहले बताए। thahakhabar