वीरगन्ज : दुई नम्बर प्रदेशको सबैभन्दा पूरानो र ठूलो अस्पताल नारायणी उपक्षेत्रिय अस्पतालमा एकतिर ८ करोड रुपैयाँमा खरिद गरेको सिटिस्क्यान मेसिन बिग्रिदा बिरामीहरुले निजी महंगो शुल्क तिरेर निजी संस्था धाउनुपर्ने अवस्था छ भने अर्का तिर मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. मदन उपाध्यायको गैर जिम्मेवारीपनले अस्पताल लथालिंग बन्न पुगेको छ ।
गत साउनमा यस अस्पतालको नेतृत्व सम्हाल्न आइपुगेका मेसु उपाध्याय लगातार अनुपस्थिति हुँदा अस्पतालको प्रशासनिक अवस्थासँगै सबै क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ । अस्पतालमा मासिक ५० लाख आम्दानी हुने भएतापनि नेतृत्वको लापरबाहिका कारण उचित व्यवस्थापन नहुँदा बिरामीहरुले उचित स्वास्थ्य सेवा लिन सकिरहेका छैनन् भने अस्पताल अस्तव्यस्त र दुर्गन्धित बन्न पुगेको छ ।यहाँ आउने बिरामीहरु अस्पतालको दुर्गन्ध र फोहोरले गर्दा थप बिरामी हुने बिवसताबाट गुज्रिरहेका छन् ।
अस्पतालमा जडान गरिएको सिटीस्क्यानलगायतका महंगा मेसिनहरु मर्मत अभावमा थन्किएको अवस्थामा छ भने स्वास्थ्य सेवा विभाग र सहयोगि दाताले उपलब्ध गराएको महंगा–महंगा मेसिनहरु समेत बिग्रिएर थन्किएको अवस्थामा छन् । त्यस्तै डायलेसिस मेसिन समेत समान्य मर्मतको अभावमा बन्द हुँदा बिरामीहरुमाथि मार परेको छ ।
त्यस्तै २०७२ सालमा स्वास्थ्य सेवा विभागले ८ करोड रुपैयाँमा खरिद गरि पठाएको सिटीस्क्यान मेसिन ३ वर्ष पुग्दा नपुग्दै बिग्रिएको छ । सामान्य खराबि हुँदा पनि मेसिन मर्मत हुन नसक्दा बिगत ८ महिनादेखि बिग्रिएर बसेको छ । यसपछि बिरामीहरुले थप सास्ती खेप्नु परिरहेको छ । अस्पताल आउने बिरामीहरु अस्पतालमा सिटीस्क्यान बन्द भएपछि बाहिरि निजी अस्पतालमा चर्को मूल्य तिरेर सिटीस्क्यान गर्न बाध्य भएका छन् ।रेडियोलोजिस्ट विभागका इन्चार्ज टेक्नोलोजिस्ट प्रदीप साहले सिटीस्क्यान मर्मतको अभावमा विगत ८-९ महिनादेखि यहाँको सेवाहरु ठप्प भएको बताए ।
यो मेसिन बिग्रिदा दैनिक १८ देखि २० जना बिरामी प्रभावित हुने गरेका छन् । सरकारी अस्पतालमा बिरामीहरुले सिटीस्क्यान गर्दा ३ हजार मात्र शुल्क दिनुपर्छ भने निजी अस्पतालहरुमा ४५ सयदेखि ९ हजारसम्म शुल्क तिरेर उपचार गराउन बाध्य छन् ।अस्पतालका निमित मेसु डा. सुरेन्द्र चौधरीले मर्मतको अभावमा विगत ८ महिनादेखि अस्पतालको सिटीस्क्यान सेवा बन्द रहेको स्वीकार छन् । उनले स्वास्थ्य सेवा विभागका आपूर्ती महाशाखामा मेसिन बिग्रिएकोबारे २ पटक पत्रचार नै गरेर जानकारी गराई सकेको बताए । तर, यसबारे अहिलेसम्म मेसिन मर्मत गर्न कुनै प्रक्रिया अगाडी बढाइएको छैन ।
अस्पतालमा दैनिक ओपिडी र इमरजेन्सी गरेर ८ सयदेखि एक हजारसम्म टिकट कट्ने गरेको छ । ओपिडीमा १५ रुपैयाँ टिकट मूल्य राखिएको छ भने इमरजेन्सी सेवाका लागि २५ रुपैयाँ राखिएको छ । अस्पतालको लेखा अधिकृत रन्जन कर्णका अनुसार दैनिक डेढ लाखदेखि २ लाखको हराहरीमा आम्दनी हुने अस्पतालमा मासिक ५० लाखदेखि ६० लाखसम्म आम्दनी हुने गरेको छ ।
तर, अस्पतालका मेसु डा. उपाध्याय आफ्नो जिम्मेवारी बहन गर्न सकेका छैनन् । २०७६ साउन २० गते मन्त्रालयबाट सरुवा भएर आएका उपाध्याय साउन २२ गते अस्पतालमा हाजिर भएका थिए । उनी अस्पतालमा आएको ७ महिना बितिसक्दा नियमित १० दिन पनि अस्पतालमा उपस्थित भएका छैनन् । उपाध्याय कहिले सुत्केरी विदा, कहिले गोष्ठी, कहिले मिटिङ्ग, त कहिले काज त कहिले मन्त्रालय काजलगायत विभिन्न बहाना देखाएर अस्पतालबाट बाहिर रहने गरेका छन् भने अहिले माघ १९ देखि २३ गतेसम्म लागि बिदामा बसेका छन् । उनी माघ महिनामात्र १७ दिन बिदामा बसेका छन् ।
मेसु उपाध्यायको लापरबाहिका कारण यहाँ जडित डायलेसिस मेसिन समेत समान्य मर्मतको अभावमा बन्द भएको छ । विभिन्न सहयोगि दाता र स्वास्थ्य सेवा विभाग गरी ११ वटा डायलेसिस मेसिन अस्पताललाई उपलब्ध गराएको थियो । ११ वटा मेसिनबाट ४ वटा मेसिन बिग्रदा दैनिक १५ जनाभन्दा बढी बिरामी सेवा लिनबाट बन्चित भएका छन् ।रुगंटा वेलफेयर सोसाईटी पर्साले उपलब्ध गराएको १ थान, टेन्डरबाट ३ थान र स्वास्थ्य सेवा विभाग गरी ११ थान डायलेसिस मेसिन अस्पतालमा जडान गरिएको थियो । तर, साउन १ गते टेन्डरप्रक्रियाबाट खरिद गरिएको ३ वटा डायलेसिस मेसिनमध्ये एउटा सञ्चालन गरिएको दिनमै बिग्रेको थियो ।
अस्पतालका मेसुलाई मेसिन बिग्रिएकोबारे बारम्बार जानकारी गराउँदा समेत कुनै सुनवाई नभएको डायलेसिस विभागका ईन्चार्ज ज्योती गुप्ताले बताइन् ।नारायणी अस्पतालमा डायलेसिस निशुल्क हुन्छ । यहाँ १ रुपैया पनि खर्च लाग्दैन तर विगत ७ महिनादेखि चार वटा मेसिन बिग्रदा बिरामीहरु अन्य निजी अस्पतालहरुमा महँगो शुल्क तिरी सेवा लिन बाध्य छन् । निजी अस्पतालहरुमा एउटा डायलेसिज गरेबापत ५ हजार रुपैयाँ लिने गरेका छन् ।वीरगन्जको नारायणी अस्पताल काठमाडौंपछि मोफसलको पहिलो सरकारी अस्पताल हो । चार कोठे ओपिडी सेवा भवनबाट शुरु भएको नारायणी अस्पतालले २०१८ सालमा ५० शैया सेवा दिन थप सेवा दिन थालेको हो ।
इतिहास बोकेको यस अस्पताललाई संघीय सरकारले विशेषज्ञसेवासहित ५ सय शैयामा स्तरोन्नती गरेर प्रदेश २ कै नमुना अस्पताल बनाउने घोषणा गरेपनि त्यो घोषणा काजमै सिमित हुन पुगेको छ । त्यस्तै प्रदेश स्तरको मेडिकल कलेजका रुपमा पनि यस अस्पताललाई विकसित गर्ने योजनाले पनि साकाररुप लिन सकेको छैन । अहिलेसम्म स्थानीय दाताहरुको सहयोगमा स्थापना भएको यो अस्पातललाई न त संघीय सरकारले नै प्राथमिकतामा राखेर विकास गरेको छ न त प्रदेश सरकारले नै । स्थानीयवासीहरुको यस्तै गुनासो छ ।
तत्कालीन नगरप्रमुख माधवलाल श्रेष्ठ र काशीकान्त झाको प्रयासले नगरपालिकाबाट ३५ लाख सहयोग लिई १ सय ५० शैया सेवा सञ्चालनमा आएको हो । पछि नेपाल सरकारको सहयोगले २ र अस्पताल विकास समितिको सहयोगले १ सय गरी ३ सय शैयासम्म पुगेको थियो । नेपाल सरकारबाट हालसम्म भौतिक पूर्वाधारको लागि कहिल्यै सहयोग नपाएकोले भौतिक पूर्वाधारहरु वीरगन्जका स्थानीय दाताहरुको सहयोगमा क्रमशः निर्माण हुँदै आएको जानकारहरु बताउछन् ।अस्पतालमा विकासमा सहयोगिको भुमिका निर्वाह गर्दै आएका समाजिक अगुवा एवं राजपाका सह महासचिव निजामुदिन समानी मेसुले अस्पतालको सेवा सुविधा धरासायी बनाएको प्रति चिन्ता जनाउँदै यसको विरोधमा उत्रिने चेतावनी दिए ।नरेश सर्राफ