बारा । मसानघाटको सार्वजनिक जग्गा व्यक्तिले किर्ते गरेर भोगचलन गरिरहेको सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ। तर बाराको जीतपुरसिमरा वडा नम्बर ४ मा यस्तै भएको छ। फिल्डबुकमा खोला, नाला, गौचरन, ऐलानी, प्रति, बुट्यान भनी उल्लेख भएका बाराका सार्वजनिक जग्गा किर्ते गरेका भू(माफियाले मसानघाटको जग्गा समेत किर्ते गर्न भ्याएका हुन्। यहाँस्थित मसानघाटको सार्वजनिक जग्गा किर्ते गरेर रामचन्द्र गौतमले आफ्नो नाममा श्रेस्ता बनाएको अनुसन्धानका क्रममा भेटिएको छ । मसानघाट भनी उल्लेख भएको कित्ता नं ५९ को ६ बिघा ८ कठ्ठा जग्गा २०४७ साउन ३० गते नेपाल सरकारको ऐलानी श्रेस्ता बदर गरेर गौतमले फरदवा गुठीमार्फत आफ्नो नाममा श्रेस्ता बनाएका हुन्। गौतमले किर्ते गरेको मसानघाटको सो जग्गामध्ये केही आफन्तको नाममा दर्ता गरिसकेका छन् भने केही बेचविखन समेत गरिसकेको भेटिएको छ । हाल सो मसानघाटलाई कित्ताकाट भएर एकदर्जन कित्ता पुगिसकेको छ ।
साविक पिपरासिमराको कित्ता नं ५९ को सो जग्गा कित्ताकाट भएर कित्ता नं ९५३, १०१९, १०२०, ९५०, ९५१, ९५५, १६५४,१६५२, १६५६, १६५७ र १६५८ भएको छ । करोडौं मूल्य पर्ने सो सार्वजनिक जग्गा पछिल्लो समय कसले भोगचलन गरिरहेको छ भनी मालपोत कार्यालय सिमराले खोजी गरेको छ। ‘रामचन्द्र गौतमको नामबाट पटक पटक कित्ताकाट र वेचविखन भएर धेरै व्यक्तिको नाममा पुगिसकेकाले पछिल्लो समय त्यो जग्गा कसले भोगचलन गरिरहेको छ भनी हामी खोज्दैछौं,’ मालपोत कार्यालय सिमराका प्रमुख आचार्यले भने।