एन्टिभाइरल औषधिको संयोजनबाट कोरोना भाइरसको सफल उपचार
वीरगंज संजाल
२० माघ २०७६, सोमबार १३:४२
४५८३
एन्टिभाइरल औषधिको संयोजनबाट थाइल्यान्डका चिकित्सकले कोरोना भाइरसका एक बिरामीको सफल उपचार गरेका छन् । स्वास्थ्य मन्त्रालयले आइतबार दिएको ब्रिफिङअनुसार बैंककस्थित राजविथी अस्पतालका चिकित्सकले चीनबाट आएकी कोरोना भाइरस सङ्क्रमित ७१ वर्षीय वृद्धाको उपचार गरेका हुन् ।
एचआइभी र फ्लू उपचार गर्न प्रयोग गरिने औषधिको संयोजनबाट उपचार संभव भएको बताइएको छ। ती वृद्धालाई यसअघि एचआइभी विरूद्धको औषधिबाट मात्रै उपचार गरिएको थियो ।
उक्त उपचारविधिबाट सन्तोषजनक नतिजा आएको उपचारमा संलग्न डाक्टर क्रियांग्सक एटिपोर्नवानिचले बताए। ‘उपचारविधिबाट ४८ घण्टाभित्रै बिरामीको अवस्थामा सुधार आयो र परीक्षणको नतिजामा पनि सोही अवधिमा कोरोना भाइरसको संक्रमण पोजेटिभबाट नेगेटिभ देखायो,’ उनले भने ।
पछिल्लो परीक्षणमा बिरामीको श्वासप्रश्वास प्रणालीमा भाइरस नदेखिएको अस्पतालले जनाएको छ । केही समयअगाडि मात्रै अमेरिकी स्वास्थ्य संस्था नेसनल इन्स्टिच्युट एलर्जी एन्ड इन्फेक्सियस डिजिजले कोरोनाभाइरसको उपचारका लागि अहिलेसम्म प्रभावकारी औषधि नभएको बताएको थियो।nepal post daily