भैरहवा – छिमेकी मुलुक चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि रुपन्देहीको सीमा नाका बेलहियामा स्वास्थ्य सहायता कक्ष ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ ।
विश्वका दर्जन बढी देशमा यो भाइरस फैलिए पनि नाकामा सतर्कता नअपनाइएको विषयमा अन्नपूर्ण पोस्ट्ले समाचार प्रकाशित गरेपछि बेलहिया नाकामा ‘हेल्थ डेस्क’ स्थापना गरिएको हो ।
स्वास्थ्य कार्यालय रुपन्देही लगायत अन्य सरकारी कार्यालयको समन्वय सिद्धार्थनगर नगरपालिकाले बिहीवार सीमामा ‘हेल्थ डेस्क’ स्थापना गरेको हो । डेस्कमा चिकित्सक सहितको टोली खटेको छ ।
स्थलमार्ग हुदै बेलहिया नाकाबाट सबैभन्दा बढी पर्यटक मुलुकमा भित्रिन्छन् । जसमा अधिकांश चीनियाँ पर्यटक पनि हुने गर्छन् । बेलहिया नाका हुँदै २०१९ मा ६ हजार १ सय ८ जना चिनियाँ नेपाल आएका थिए । यस वर्ष जनवरी २८ सम्म ५ सय ४७ जना चिनियाँ यस नाकाबाट भित्रिएका छन् ।
डेस्कमा नेपाल भित्रिने पर्यटकहरुको स्वास्थ्य परिक्षण हुने गरेको छ । रुघा, खोकी, ज्वरो लगायत लक्ष्ण देखिएका पर्यटकहरु नाकामा स्वास्थ्य परिक्षण गरिने र शंकास्पद लागेको अवस्थामा अस्पतालमा लगेर र्याल नमुना संकलन गरी परिक्षणको लागि राष्ट्रिय प्रयोगशालामा पठाउने ‘हेल्थ डेस्क’ की इन्चार्ज उमा थापाले बताइन् ।
परिक्षणको लागि विशेष गरी चिनियाँ पर्यटकलाई निगरानीमा राखिएको छ । बिहीबार पनि चीनबाट आएका दुई पर्यटकको नाकामा स्वास्थ्य परिक्षण गरिएको छ । जसमा उनीहरुमा भाइरसको कुनै लक्षण नदेखिएको इन्चार्ज थापाले बताइन् ।