अस्पताल हिंडेका बिरामीको दुर्घटनामा परेर ज्यान गयो
वीरगंज संजाल
१३ माघ २०७६, सोमबार १३:२४
३४११
स्वास्थ्य उपचारका लागि अस्पताल हिंडेका ओखलढुंगाका सन्तोष विश्वकर्माको दुर्घटनामा परेर मृत्यु भएको छ । केही समयअघि देखि अस्वस्थ रहेका चम्पादेवी गाँउपालिका ५ का ५५ वर्षीया विश्वकर्माको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचारका लागि जानेक्रममा उनी चढेकाे जीप दुर्घटना हुँदा बाटोमैमा मृत्यु भएको हो ।
सोमबार बिहान भएको सवारी दुर्घटनामा चालक सहित अन्य ३ जना गम्भिर घाइते भएका छन् । गाउँबाट बिरामी लिएर ओखलढुंगा सदरमुकाम स्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो सोमबार बिहान ६ः३० बजेको समयमा दुर्घटना हुँदा १ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक श्री प्रसाद राईले जानकारी दिए ।
दुर्घटनामा परेर चालक सोही ठाँउका जितबहादुर बस्नेत, मृतक बि.क कि छोरी कल्पना वि.क र स्थानीय अमिता बुढाथोकी गम्भिर घाइते छन् । घाइतेहरुको अवस्था गम्भिर रहेकोले स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेर अस्पताल लैजाने तयारी गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
बोलेरो शिद्धडाँडाबाट करिब ५ सय मिटर तल खसेर गोपेखोला पुगि दुर्घटनाग्रस्त भएको छ । साँघुरो सडकका कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।