बैतडी । सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमध्ये बैतडी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारका उजुरी पर्नेमा तेस्रोमा छ । स्थानीय तहका भ्रष्टाचार सम्बन्धी धेरै उजुरी पर्ने जिल्लामा कैलाली र कञ्चनपुरपछि बैतडी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
स्थानीय तहमा भएका आर्थिक अनियमितता, दुरुपयोग लगायत उजुरीको चाप बढ्दै गएको आयोगले बताएको छ । गत वर्षभन्दा चालू वर्षमा धेरै उजुरी परेको पाइएको छ । २०७५/७६ को पुस मसान्तसम्म बैतडीमा भएका भ्रष्टाचारका
२९ उजुरी दर्ता भएका थिए भने चालू आवको सोही अवधिमा ४० उजुरी दर्ता भइसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका कार्यालय प्रमुख बाबुराम खतिवडाले जानकारी दिए । गतवर्ष ९६ ओटा उजुरी परेकोमा ३० उजुरी फछ्र्योट भइसकेको उनले बताए । चालू वर्षमा परेका उजुरीमध्ये अहिलेसम्म १६ ओटा फर्छ्योट भएको उनले जानकारी दिए ।
स्थानीय तह बाहेक जिल्लाका अन्य सरकारी कार्यालयले गरेका भ्रष्टाचारका उजुरी पर्ने क्रम बढ्दो छ । स्थानीय तहले सञ्चालन गरेका विकास निर्माण सम्बन्धी आयोजनामा भएको हिनामिनाको उजुरी सबैभन्दा बढी पर्ने गरेको कार्यालयले बताएको छ ।