एक हजारका ३१ थान नक्कली नोटसहित कालिमाटीबाट दुई पक्राउ
वीरगंज संजाल
५ माघ २०७६, आईतवार १४:१४
३८८७
काठमाडौं | कलंकीमा नक्कली नोटको कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । एक हजारका ३१ थान नेपाली नक्कली नोटसहित दुई जनालाई आइतबार बिहान पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त कालिमाटीले जनाएको छ। पक्राउ पर्नेमा बारा निजगढ घर भएका २७ वर्षीय अनुस थापा मगर र सोही ठाउँका २२ वर्षीय रवि आले मगर छन् । बृत्तका प्रहरी नायब उपरीक्षक रूगम कुँवरका अनुसार उनीहरूसँग चालिस हजार रूपैयाँ नक्कली नोट थियो ।
सोमध्ये उनीहरूले केही रूपैयाँ खर्च गरिसकेका थिए । ‘हेर्दा फोटोकपी गरेजस्तो देखिन्छ, एउटै नम्बर भएका धेरै नोट छन्,’ कुँवरले सेतोपाटीसँग भने। कुँवरका अनुसार नक्कली नोटका मुख्य कारोबारी अर्कै रहेको पत्ता लागेको छ। उनको खोजी भइरहेको कुँवरले बताए । ‘आफ्नो हातमा केही पैसा आएपछि उनीहरूले डान्स बार र डिस्कोमा गएर खर्च गरेको देखिन्छ,’ कुँवरले भने। पक्राउ परेकामाथि अनुसन्धान भइरहेको बृत्तले जनाएको छ।setopati