देश- २ का ८ वटै जिल्लामा ‘छोरी बीमा’ अभियान एकसाथ सुरु
वीरगंज संजाल
३ माघ २०७६, शुक्रबार ११:५५
३५८९
जनकपुर | प्रदेश २ सरकारले शुरु गरेको छोरीहरुको बीमा गराउने अभियान बिहीबारदेखि प्रदेशका आठवटै जिल्लामा एकैसाथ शुरु भएको छ । सप्तरीदेखि पर्सासम्म एकै दिन बीमा शिविर प्रारम्भ भएको हाे ।
शिविर राखिएका ठाउँहरुमा आफ्ना छोरीहरूको बीमा गराउन अभिभावकहरुको उत्साहजनक सहभागिता देखिएकाे छ । प्रदेशका आठवटै जिल्लामा एकै साथ शुरु गरिएको बीमा शिविरको प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री एवं उपसभामुखले उद्घाटन गरेका छन् ।
छोरीको बीमा गराउने अभियानमा सप्तरीको बोदे बर्साइनस्थित चन्द्र माध्यमिक विद्यालयमा, सिरहाको कल्याणपुर नगरपालिकास्थित रेडक्रस भवनमा, धनुषाको लक्ष्मिनियांँ गाउँपालिकाको कार्यालय, महोत्तरीको महोत्तरीको जलेश्वरस्थित लचमु माध्यमिक विद्यालय, सर्लाहीको इश्वरपुर नगरपालिकाको कार्यालय, रौतहटको गौरस्थित बाल मन्दिर, बाराको कलैयास्थित सिद्धेश्वर मावि र पर्साको बीरगञ्जस्थित त्रियुद्ध माध्यमिक विद्यालयमा एकसाथ शिविरको उद्घाटन गरिएको हाे ।
प्रदेश सरकारले ‘बेटी बचाऊँ, बेटी पढाऊँ’ अभियान अन्तर्गत २०७५ साल माघ महिनायता जन्मेका छोरीहरुका लागि ‘शिक्षा बीमा’ गर्ने कार्यक्रम अगाडि ल्याएकाे हाे । गत वर्षदेखि नै यो अभियान प्रारम्भ गरे पनि कर्मचारी अभावमा सफल हुन नसक्दा सरकारले शिविरै सञ्चालन गरेर बीमा अभियान सुरू गरेकाे हाे ।
प्रदेशका सबै १ सय १६ वटा स्थानीय तहमै शिविर सञ्चालन गरेर छोरी बीमा अभियानलाई प्रदेश सरकारले अगाडि बढाएकाे छ । शिविर उद्घाटनका दिन प्रदेशका आठवटै जिल्लाका ८०४ जना बालिकाको बीमा गरिएको मुख्यमन्त्रीकाे कार्यालयले जनाएको छ । सबैभन्दा बढी सर्लाहीमा बालिकाको बीमा गरिएको हा, यहाँ २ सय ४६ जना बालिकाको बिमा भएको जनाइएकाे छ ।
पहिलो दिन बाराका १४० जना बालिकाको बीमा भएको छ भने सप्तरीमा १०७ जना, महोत्तरीमा ७५ जना, पर्सामा ६७ जना, रौतहटमा ६५ जना, सिरहामा ५५ जना र धनुषामा ५० जना बालिकाको बीमा गरिएको उक्त कार्यालयले जनाएको छ । Nepalpostdaily