काठमाडौं । काठमाडौं र पर्साबाट स्रोत नखुलेको १२ लाख ९९ हजार रुपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका २, नागढुंगाबाट स्रोत नखुलेको नगद ९ लाख ९९ हजार रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा हिपरमाई गाउँपालिका ८ का २१ वर्षीय कृष्ण यादव र चितवन भरतपुर महानगरपालिका १६ का ३८ वर्षीय राजु पौडेल छन् । काठमाडौंबाट नुवाकोटतर्फ जाँदै गरेको बा.२ ज ४८०२ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा पौडेलको साथमा उक्त नगद फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
यस्तै पर्साको वीरगन्ज महानगरपालिका १६ रजतजयन्ती चोकस्थित सडकबाट स्रोत खुलाउन नसकेको नगद ३ लाख रुपैयाँसहित भारत विहार मोतिहारीका २१ वर्षीय जबिउल्लाह आलम पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको बीआर ०५ भी ३४४४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकमसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।