जनकपुर । प्रदेश २ मा उपभोक्ता संघर्ष समितिले आज भौतिक पूर्वाधार विकास मन्त्रालयको पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेको छ। विभिन्न उपभोक्ता समूहहरू मिलेर गठन भएको उपभोक्ता संघर्ष समितिले आफूहरूले संसदीय कोषको बजेट विकास कार्य तथा विभिन्न विकासका कार्यहरू समयमै सम्पन्न गर्दा पनि सरकारले अहिलेसम्म भुक्तानी नगरेकोले बाध्य भएर तालाबन्दी गर्नु परेको आरोप लगाएका छन्।
पटक पटक ध्यानाकर्षण गराउँदा पनि प्रदेश २ अर्थ मन्त्रालय तथा अर्थ मन्त्री विजय यादवले कुनै पहल नदेखाएपछि संघर्षमा होमिनुको विकल्प नरहेको गठित उपभोक्ता संघर्ष समितिका अध्यक्ष रोशन सिंह राणाले बताएका छन्।
अध्यक्ष राणाले भने – ‘हामीले सरकारलाई तोकिएको समय सीमा भित्र नै सबै कागजपत्र बुझायौँ, बिलभरपाई समेत पेश गर्यौ तर भौतिक पूर्वाधार मन्त्रालय ले कुनै सुनुवाई गरेन। यस अघिपनि हामीले प्रतिकात्मक विरोध गर्यौ तर आज देखि सङ्घर्षका कार्यक्रमलाई पूर्ण रूपले अघि बढाउँदै तालाबन्दी गरेका छौं। आगामी रणनीति हाम्रो अब बस्ने बैठकबाट तय गरी सार्वजनिक गर्ने छौं ।’
विभिन्न उपभोक्ता समुहहरूले सम्पन्न कार्यहरूको भुक्तानी पाउन सङ्घर्षलाई निरन्तरता दिन तथा फलदायी बनाउन रोशन सिंह राणाको अध्यक्षतामा जनकपुरको गोपाल धर्मशालामा बसेको बैठकबाट एघार सदस्यीय सङ्घर्ष समिति नै गठन गरेको छ।
समितिको उपाध्यक्षमा पुनम झा, महासचिवमा राज कुमार ठाकुर, सचिवमा उपेन्द्र झा, कोषाध्यक्षमा शेखर ठाकुर तथा सदस्यहरुमा श्याम साह, रोशन ठाकुर, सीताराम यादव, अवधेश मिश्र, नरेश सिंह र जोगेन्द्र राउत रहेका छन्। News 24