पोखरामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा पाल्पाली ढाकाका विभिन्न पोसाकहरु राखिएको छ । मोनिका ह्यान्डीक्राप्टको कक्षमा महिलाले विशेष रुचिसाथ पाल्पाली ढाकाका पोसाक किन्ने गरेको व्यावसायी मणिराज भट्टराईले बताए ।
ढाकाको रू.२५० देखि १५ हजारसम्मका पोसाकहरु विक्री कक्षमा राखिएको उनले बताइन् । उनले भनिन् , ‘पहिलोपल्ट मेलाबाट यो व्यापारको शुरु गरेकी हुँ, धेरैले मन पराउनुभयो अब पोखरामा यसको विक्री कक्ष राखेर विस्तार गर्ने सोच राखेकी छु ।’
विगत १८ वर्षदेखि पाल्पाली ढाका उत्पादन गर्दै आएका मिलन भट्टराईले अहिले देशका विभिन्न ठाउँमा सञ्चालन भएका मेला महोत्सवमा २० ओटा कक्षमा ढाकाका पोसाकको व्यापार गरेको बताए । हाल पाल्पाको अर्गली र काठमाडौंमा गरी दुई ठाउँमा उद्योग सञ्चालन गर्दै आएको र उद्योगमा १२० भन्दा बढी कामदार रहेको उनले जानकारी दिए ।
पोखरा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास उपसमिति संयोजक मुना बास्तोलाले स्वदेशी उत्पादनलाई टेवा पुग्ने र व्यक्तित्वमा समेत ढाका पोसाक राम्रो मानिएकाले आफूले पनि ढाका साडी लिएको बताइन् ।