उखु किसान फेरि ठगिए, हालसम्म मात्रै १९ प्रतिशत भुक्तानी
वीरगंज संजाल
२६ पुष २०७६, शनिबार १५:५५
४०५९
काठमाडौँ | सरकार र मिल सञ्चालकले उखु किसानलाई पुस २५ गतेसम्ममा भुक्तानी दिन बाँकी रहेको मध्ये ८० प्रतिशत रकम दिने बताए पनि त्यो भन्दै निकै कम मात्रै भुक्तानी पाएको किसानले बताएका छन् ।
आफूहरुले पाउनु पर्ने रकम माग गर्दै सर्लाहीका उखु किसानले काठमाडौँमा आन्दोलन गरेका थिए । किसानको आन्दोलनपछि सरकार तथा चिनी मिल सञ्चालकले भुक्तानी दिन बाँकी मध्ये ८० प्रतिशत पुस २५ गतेसम्म र बाँकी रकम माघ ७ गते भित्र दिने सहमति गरेका थिए ।
तर उखु किसानले भने आफूहरुले सहमति अनुसार भुक्तानी नपाएको बताएका छन् । किसान संघर्ष समितिका सदस्य राजेश यादवका अनुसार किसानले अति कम मात्रै भुक्तानी पाएका छन् । किसानलाई ५० करोड भुक्तानी दिन बाँकी हरेको अन्नपूर्ण सुगर मिलले शुक्रबारसम्म दुई करोड ५० लाख रुपैयाँ मात्रै भुक्तानी दिएको यादवले बताएका छन् ।
यस्तै किसानलाई २१ करोड रुपैयाँ भुक्तानी दिनु पर्ने महालक्ष्मी सुगर मिलले शुक्रबारसम्म मात्रै ११ करोड ५० लाख रुपैयाँ भुक्तानी दिएको यादवले जानकारी दिए । साढे ९ करोड भुक्तानी दिन बाँकी रहेको महालक्ष्मी मिल सञ्चालनमा आएको छ । दुई मिलले गरेर किसानलाई ७१ करोड भुक्तानी दिनु पर्नेमा हालसम्म १४ करोड मात्रै दिएका छन् । अर्थात १९ प्रतिशत मात्रै भुक्तानी भएको छ।
किसानले सरकारबाट पाउनु पर्ने अनुदान पनि नपाएको गुनासो गरेका छन् । मिलले भुक्तानी दिए पनि सरकारले तोकेको दरमा भने दिएको छैन । सरकारले प्रति क्वीन्टल ४७१ रुपैयाँ २८ पैसा मूल्य तोकेको छ तर मिल सञ्चालकले भने प्रति क्वीन्टल ४३५ रुपैयाँका दरले भुक्तानी दिएका छन् । Deshsanchar