नियोजित रुपमा ट्रिपरले ठक्कर दिएर युवकको मृत्यु भएको भन्दै स्थानीयद्वारा राजमार्ग बन्द
वीरगंज संजाल
२५ पुष २०७६, शुक्रबार १३:०९
४८१५
जनकपुरधाम | धनुषामा आज (शुक्रबार) बिहान ट्रिपरको ठक्करबाट एक युवकको मृत्यु भएको घटनाको विरोधमा स्थानीयवासीले मिथिला नगरपालिका ५ श्रीपुर रामलक्ष्मण चोकमा टायर बालेर राजमार्ग अवरुद्ध गरी दोषीलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।स्थानीयवासीको विरोधका कारण बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
अवैध गिट्टी बालुवा उत्खनको विरोध गर्दै आएका मिथिला नगरपालिका ५ श्रीपुरनिवासी २४ वर्षीय दिलीपकुमार महतो ‘ओमप्रकाश’लाई आज बिहान करिब ४ बजे ‘मोर्निङ वाक’ गएको बेला धनुषाको औरही खोला नजिक ट्रिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । यो घटनालाई स्थानीयले नियोजित भएको हुन सक्ने भन्दै आवश्यक छानविन गर्न माग गरेका छन् ।
शुक्रबार बिहान साथी रोशन यादवसँग खोलामा ‘मोर्निङ वाक’ गएको बेला ना ७ ख ६४१३ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो ।
घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय ढल्केवरको टोली घटनास्थल पुगेको थियो । घटनास्थल पुगेका प्रहरीको टोली युवकको शव नियन्त्रणमा लिई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ट्रिपरलाई इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिएको छ भने चालक फरार र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा नियोजित रुपमा ट्रिपरले किचेर दिलिपको हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए ।
गाउँलाई नै जोखिममा पर्ने गरी औरही–बसही खोलामा भइरहेको अवैध गिट्टी बालुवा उत्खनको दिलिपको नेतृत्वमा गाउँलेले विरोध गर्दै आएको थिए । रिसिबी साँध्न क्रसर सञ्चालकले योजनाबद्ध रुपमा दिलीपको हत्या गरेको स्थानीयवासीको आरोप छ । Thenepaltop