काठमाण्डौं | यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा कम्प्युटरबाट दिन मिल्ने प्रावधान ल्याउने भएकाे छ ।
विभागले हाल भइरहेको लिखित परीक्षामा अनियमितता भएको निष्कर्ष निकाल्दै लिखित परीक्षा कम्प्युटराइज्ड प्रणालीबाट गर्ने व्यवस्था गर्ने भएकाे हाे ।
कम्प्युटराइज्ड प्रणालीबाट लाइसेन्सको परीक्षामा सहभागी परीक्षार्थीले हातले लेखेर परीक्षा दिनुपर्ने छैन भने नतिजा थाहा पाउन धेरै समय कुर्नुपर्ने छैन । कम्प्युटरबाटै परीक्षा दिन मिल्ने व्यवस्था भने केही महिनापछिबाट मात्रै कार्यान्वयनमा आउने विभागले जनाएको छ । नयाँ व्यवस्था आएपछि लाइसेन्सको परीक्षा दिन चाहनेले अनलाइन फारम भर्नुपर्नेछ ।
फारम भरेपछि लिखित परीक्षाको मिति, स्थान र समय निर्धारण हुन्छ । त्यसैका आधारमा सम्बन्धित यातायात कार्यालयमा गएर परीक्षार्थीले कम्प्युटरमार्फत लिखित परीक्षा दिनसक्ने विभागले जनाएको छ ।