जनकपुरधाम | प्रदेश २ को प्रदेशसभाको बिहीबार बोलाएको बैठक बस्दै नबसी स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।
यादवका अनुसार अब बैठक पुस २८ गते मंगलबार दिउँसो १ बजे निर्धारण गरिएको छ । यसअघि पुस १७ गते तोकिएको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो । त्यसअघि पुस १४ र १५ गते आह्वान गरिएको प्रदेशसभाको बैठक प्रतिपक्षी तथा केही सत्तारुढ सांसद समेतले अवरुद्व गरेका थिए ।
गत आर्थिक बर्ष २०७५/७६ मा संचालन गरिएका योजनाहरुको भुक्तानी पाउनुपर्ने माग राख्दै सांसदहरुले लगातार प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएका छन् ।
गत बर्ष सञ्चालन गरिएका ८ सय ४२ वटा योजनाको झण्डै ९१ करोड रुपैयाँ भुक्तानी हालसम्म हुन सकेको छैन । सांसदहरुले भुक्तानी नपाएसम्म बैठक चल्न नदिने चेतावनी दिएका छन् ।
प्रदेशसभा बैठक बस्न नसक्दा प्रदेशको नामांकरण र स्थायी राजधानीको प्रस्ताव पनि अन्यौलमा परेको छ ।
गत भदौ ५ गते दलहरुले प्रदेशको नाम र राजधानीबारे प्रस्ताव संसदमा दर्ता गराए पनि त्यस उपर छलफल हुन सकेको छैन् । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले प्रदेशको नाम ‘मधेश’ प्रस्ताव गरेको छ ।
प्रमुख प्रतिपक्षी नेकपाले जानकी र कांग्रेसले मिथिला–भोजपुरा राख्नुपर्ने प्रस्ताव पेश गरेको छ । यद्यपी यस बिषयमा छलफल अगाडि बढ्न सकेको छैन । प्रदेशसभामा एक दर्जन भन्दा बढी विधेयकहरु पेश भए पनि छलफल अगाडि बढ्न नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । Nepalpostdaily