काठमाडौं | सशस्त्र प्रहरीले नेपाल विद्युत प्राधिकरणका दुई कर्मचारीलाई कुटपिट गरेको छ। मंगलबार राति मूलपानीको लक्ष्मीनारायण चोकमो बिजुलीको लाइन मर्मत गरेर फर्किने क्रममा नेपाल विद्युत् प्राधिकरण जोरपाटी वितरण केन्द्रको नोलाइट टोलीका कर्मचारी सूर्यबहादुर खत्री र सुवास खड्कालाई प्रहरीले हातपात गरेको हो।
महानगरीय प्रहरी वृत बौद्धका अनुसार हातपात गर्नेमा सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (सई) प्रवीण राई र हवल्दार छवीन्द्र राई रहेका छन्। प्रहरी बृत बौद्धका डिएसपी रमेश बहादुर सिंहले बिजुली बनाउने क्रममा झडप हुँदा कर्मचारी सूर्यबहादुर खत्रीको हातमा गाडीको ढोकाले च्यापेर घाइते भएको बताए।
‘बिजुली बनाउन गएका कर्मचारीले तीब्र गतिमा सवारी हाकेको बेला प्रहरीको खुट्टामा ठोकिन गएपछि प्रहरीसँग झडप हुँदा कर्मचारी घाइते भएको जानकारी आएको छ, ’उनले भने, ‘प्रहरीलाई नियन्त्रणमा लिई अहिले अनुसन्धान भइरहेको छ।’
नेपाल विद्युत प्राधिकरणका सूचना अधिकारी लिला अर्यालले भने मर्मत गरेर फर्किने क्रममा मादक पदार्थ सेवन गरी बसेका प्रहरीले कुटपिट गरेको जानकारी दिइन। उनका अनुसार घाइते कर्मचारी हेल्पर सूर्यबहादुर खत्रीको हातको बूढी औँलाको अपरेशन गर्नुपर्ने भएकोले अहिले जोरपाटी अर्थाेपेडीक अस्पतालमा शल्यक्रिया गरिँदै छ। अर्का कर्मचारी सुवास खड्काको मुखमा चोट लागेकोले सोही अस्पतालमा उपचार भइरहेको छ। Thahakhabar