जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयरका समर्थकहरुले पत्रकारहरुमाथि कुटपिट गरेका छन् । मेयरकै कार्यकक्षमा उनका समर्थकहरुले गरेको कुटपिटबाट तीन जना पत्रकार घाइते भएका छन् ।
मंगलबार जानकी मन्दिरको जग्गा अतिक्रमण सम्बन्धमा मेयर लालकिशोर साहसँग कुराकानी गर्न गएका पत्रकारहरुमाथि उनका समर्थकहरुले आक्रमण गरेका हुन् । कुटपिटबाट पत्रकारहरु अमरकान्त ठाकुर, सुभाष कर्ण र राजा झालाई चोट लागेको नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले बताए ।
उपमहानगरपालिकामा प्रबक्ता नभएको र मेयरलाई जानकी मन्दिरको जग्गा अतिक्रमण सम्बन्धमा सोध्न खोज्दा पन्छिँदै आएको अध्यक्ष मिश्रले बताए । पत्रकारसँग भेट्नै नमानेपछि केही पत्रकार साथी यो बिषयमा मंगलबार बिहान १० बजे नै मेयरका कार्यकक्षमा पुगेका रहेछन्’ अध्यक्ष मिश्रले भने, “तर लामो समय मेयर साहले समय नदिएपछि पत्रकारहरु कार्यकक्षभित्रै गएर मन्दिरको जग्गा अतिक्रमणबारे धारणा माग्न खोज्दा उनका समर्थकहरुले हातपात गरेका रहेछन् ।”