आइतवारदेखि भने मौसम अनुकूल बनेसँगै आगलागी केही कम भएको छ , रोकिएको भने छैन
वीरगंज संजाल
२२ पुष २०७६, मंगलवार ०५:४१
३७९९
सिड्नी (अस्ट्रेलिया) । अस्ट्रेलियामा आगलागीबाट भएको क्षतिको व्यवस्थापनका लागि राष्ट्रिय पुनःस्थापना निकाय गठन गरिएको छ । प्रधानमन्त्री स्कट मोरिसन, उपप्रधानमन्त्री मिचेल एमसीकोम्र्याक र कोषाध्यक्ष जोश फ्रीडेन्बर्गले सोमवार उक्त निकायको घोषणा गरेका हुन् ।
यो निकायको कोषमा प्रारम्भिक चरणमा करीब २ अर्ब अस्ट्रेलियन डलर जम्मा गरिने छ । ‘अस्ट्रेलियामा अहिले भइरहेको आगलागीको क्षतिपूर्ति र संकट व्यवस्थापनका लागि जे गर्नुपर्ने हो, त्यो सबै काम यसले गर्छ’, उनीहरूले भने ।
अस्ट्रेलियामा गत सेप्टेम्बरदेखि भएको आगलागीका घटनामा परी २५ जनाको मृत्यु भइसकेको अधिकारीहरूले बताएका छन् । आइतवारदेखि भने मौसम अनुकूल बनेसँगै आगलागी पनि केही कम भएको छ । रोकिएको भने छैन । अहिले बनाइएको निकायले आगामी दिनमा हुने क्षति न्यूनीकरणका लागि पनि आधार तयार पार्ने छ । अहिले कोषमा राखिएको रकमले आगलागीबाट प्रभावित परिवार, किसान, व्यवसायी लगायतलाई राहत पनि उपलब्ध गराउने मोरिसनले बताए ।
अकल्पनीय आगलागीबाट पीडित सबैलाई सहयोग होस् भन्ने उद्देश्यले राहत प्रदान गर्न लागिएको उनले बताए । ‘जो आगलागीबाट पीडित भएका छन्, जसको काम नै रोकिएको छ, जसलाई पुनःस्थापना गर्नुपर्छ, उनीहरूका लागि हामीले यस मार्फत लामो समयसम्म काम गर्नुपर्छ’, उनले भने ।
नवगठित यस निकायको नेतृत्व अस्ट्रेलियाको संघीय प्रहरीका पूर्व आयुक्त अन्ड्रेव कोल्भीनले गर्नेछन् । रासस/सिन्हवा